धीरज र अदितिको बाबरी आशा



काठमाडौं । अभिनेता धीरज मगर रुकुममा जन्मिएर करिब अढाई वर्ष नेपाल बसे । त्यसपछि उनी परिवारसँग यूके उडे । यूकेमा रहँदा युट्युबर बने । फुटबलर बन्ने रुचीले क्लबस्तरीय फुटबल खेले । फिल्म हेरे पनि ‘हिरो’ बन्छु भन्ने उनले कहिल्यै सोचेनन् । तर कहिलेकाहीँ नसोचेको काम पनि गर्नुपर्छ । जुन काम अहिले धीरजले गरिरहेका छन् । पहिलो फिल्म ‘इन्टु मिन्टु लन्डन’ को सफलतापछि अभिनेता धीरज आगामी १४ गते फिल्म ‘बाबरी’मार्फत दर्शकमाझ आउँदै छन् ।

वास्तविक जीवनमा धीरज ‘रिजर्भ’ छन् । तर उनी ‘इन्टु मिन्टु लन्डन’ मा ‘लभरब्वाई’ बने । ‘बाबरी’ मा मोरङस्थित लेटाङ गाउँको विक्रान्तजङ्ग ठकुरी अर्थात् ‘सानो राजा साब’ चरित्रमा देखिँदै छन् । ‘म वास्तविकतामा जे छु, फिल्ममा त्यसको ठीक विपरीत छु । अर्थात् पहिलो फिल्ममा लभरब्वाई भएँ । दोस्रो फिल्ममा सानो राजासाब भएर सबैको दर्शन खाने, थर्काउँदै हिँड्नेखालको रिसाहा चरित्रमा छु’, हालैको भेटमा उनी भन्दै थिए, ‘बाबरीमा बाबरीलाई प्राप्त गर्न कुन हदसम्म काम गर्नुपर्छ भन्ने चरित्रमा देखिएको छु । मेरो चरित्र वास्तविक धीरजभन्दा फरक छ ।’

यूकेमै हुर्किएकाले पनि धीरजलाई नेपाली स्थानीयपन थाहा थिएन । ‘बाबरी’ को स्क्रिप्ट पढेपछि विक्रान्तको चरित्रबाट मोहित बने र सोही चरित्र निभाउन उनी राजी भए । तर यो चरित्र निभाउन उनलाई त्यति सजिलो थिएन । ‘मेरो केही साथीहरू ठकुरी सर्कलका भए पनि उनीहरूको संस्कृति, गाउँप्रतिको लगावबारे थाहा थिएन । मैले स्थानीय लवज, रहनसहनबारे थाहा पाउनकै लागि ३ हप्ताको समय लिएँ । मेरा लागि यो समय थोरै भए पनि आफूलाई चरित्रमा ढाल्नु थियो’, उनी भन्दै थिए, ‘अलिकति नर्भस थिएँ । मनमा डर थियो । तर लेटाङ पुगिसकेपछि त्यहाँ विक्रान्तजस्तो चरित्र धेरै देखेँ । उनीहरूको ड्रेसअप, बोल्नेदेखि काम गर्ने शैलीसम्मलाई नजिकबाट नियालेँ । उनीहरूलाई देखेपछि विक्रान्तको चरित्र गर्नसक्छु भन्ने आँट आयो ।’

फिल्मको ट्रेलर रिलिज भएपछि धीरजको चरित्रलाई केहीले दयाहाङ राई त केहीले सौगात मल्लसँग तुलना गरे । तर यो तुलनामा धीरज खुसी नै छन् । ‘कतिपयले दया दाइ र सौगात दाइ जस्तो देखियो भने । उहाँहरू ‘कबड्डी’ सिरिजमा काजीसाबकै चरित्रमा हुनुहुन्छ । म पनि ‘बाबरी’ मा गाउँकै काजीको चरित्रमा छु । हाम्रो चरित्र उस्तै हो । मेरो आवाज केही बोल्ड छ । त्यसकारण पनि धेरैले मलाई दयाहाङ दाइसँग तुलना गर्नुभयो’, धीरज भन्छन् ।

धीरजका अनुसार उनलाई डबिङको समयमा स्वर भर्न केही गाह्रो भएको थियो । ‘फिल्ममा मेरो सामान्या स्वरभन्दा अलिकति गहिरो स्वर छ । मेरो भागको डबिङ पूरा गर्न १४ दिन लागेको थियो । केही दिन त घाँटी दुखेजस्तो भएको थियो’, धीरज सम्झन्छन् ।

धीरजलाई ‘बाबरी’ को सुटिङ पूरा गर्नु त्यति सजिलो थिएन । किनकि उनी त्यो बेला अर्को फिल्म ‘आई एम २१’ मा पनि व्यस्त थिए । ‘बाबरीका लागि मैले ३ हप्ताको समय निकालेको थिएँ । यता आई एम २१ को २ हप्ताको सुटिङ बाँकी थियो । आई एम २१ मा डान्सरको क्यारेक्टर भएकाले त्यसको रिहर्सल गरिरहनुपथ्र्यो । त्यहीकारण एकै दिनमा दुइटै फिल्मका लागि आउजाउ गरिरहेँ’, उनी भन्छन् । फिल्ममा भिलेन चरित्रमा अभिनय गर्न चाहने धीरज भविष्यमा थ्रिलर सस्पेन्स फिल्ममा काम गर्न चाहन्छन् ।

फिल्ममा धीरजको अपोजिटमा अदिति बुढाथोकी छिन् । अदितिले फिल्म ‘कृ’ मा अभिनेता अनमोल केसीसँग रोमान्स गर्दै नेपाली फिल्ममा पाइला चालेकी थिइन् । ‘कृ’ मा गाउँले चरित्रमा देखिएकी अदिति ‘बाबरी’ काठमाडौंमा पढेलेखेकी आधुनिक युवतीको चरित्रमा छिन् । ‘फिल्ममा म लेटाङको मेयरको छोरीको भूमिकामा छु । जो आफूलाई जे मन लाग्यो, त्यही गर्ने खालको जिद्दी चरित्रकी छे । आमाबाबुले भने पनि नसुन्ने खालकी छे । ऊ स्मार्ट छे, सँगै इमोसनल पनि । चरित्र केही रोचक छ’, उनले भनिन् ।

अदितिका अनुसार अघिल्लो फिल्ममा गाउँका केटाकेटीसँग रमाउने खालको भए पनि ‘बाबरी’ मा भने उनी गाउँकै केटालाई कुट्न पनि पछि नपर्ने चरित्रमा देखिएकी छिन् । अदितिको अनुभवमा फिल्म ‘कृ’ मा भन्दा उनलाई ‘बाबरी’ मा काम गर्न केही गाह्रो भएको थियो । ‘कृमा म खासै खुल्न पाएकी थिइनँ । किनकि मेरो चरित्र नै त्यस्तै किसिमको थियो । तर बाबरीमा हरेक दृश्यमा खुलेर काम गर्नुपर्ने भएकाले केही गाह्रो भयो । मैले यो फिल्मको वर्कसपका लागि समय दिए पनि सेटमा काम गर्न अझ मेहनत गरेँ’, अदिति भन्छिन् ।

‘बाबरी’ का लागि अदितिले धीरजको जस्तै लेटाङ पुगेर त्यहाँको अवस्था अवलोकन गरिन् । लेटाङ जानुअघि त्यहाँका युवती गाउँकै परिवेशका होलान् भन्ने अदितिले सोचेकी थिइन् । ‘लेटाङ जानुअघि त्यहाँ केटी गाउँले चरित्रका होलान् भन्ने लागेको थियो, तर त्यहाँ पुगेपछि फरक पाएँ ।

किनकि उनीहरूको जीवनशैली शहरिया शैलीको रहेछ ।’ फिल्मबाट धीरज र अदिति आशावादी छन्। सुरेन्द्र पौडेल निर्देशित फिल्ममा धीरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलीप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायत कलाकारको अभिनय छ । फिल्मको हालसम्म हङकङ, अस्ट्रेलिया, दक्षिण कोरिया र युरोपको अधिकार बिक्री भइसकेको छ । फिल्ममा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्