प्रचण्डले भने  : बाबुरामसँगको सहकार्य धेरै पछिसम्मलाई हो



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा.बाबुराम भट्टराईसँगको सहकार्य धेरै लामो भएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरूको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताएका हुन् । आगामीमंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।

प्रचण्डले भने, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’

संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको र आफूले नेकपा एमालेसँग एकताको छुट्टाछुट्टै प्रयोग गरेको तर ती दुबै व्यवहारतः सफल नभएको भन्दै प्रचण्डले अब फेरि बाबुरामसँग मिल्ने जिकिर गरेका छन् । प्रचण्ड र बाबुराम एक ठाउँमा हुँदा लाखौं करोडौं जनता एक ठाउँमा हुने प्रचण्डको भनाई छ ।

प्रचण्ड र बाबुराम इतिहासले पैदा गरेको नेतृत्वहरू र युगान्तकारी भूमिका खेल्ने नेताहरू भएको भन्दै प्रचण्डले उनीहरु अलग हुँदा कसरी आन्दोलन नै नराम्रोसँग धक्का खाँदो रहेछ र क्रान्तिकारीहरू हेपिँदा रहेछन् भन्ने अहिले भोगिरहेको बताए । आफ्नो र बाबुरामको बानी व्यवहार आपसमा नमिल्ने भन्दै प्रचण्डले दुबै एक ठाउँमा हुँदा एउटाको अभाव अर्कोले पूर्ति गर्ने गरेको उल्लेख गरेका छन् । 

यस्तै अध्यक्ष प्रचण्डले समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक रहेको जिकिर गरेका छन् ।  प्रचण्डले अब पुरानो खालको जनयुद्ध सम्भव नभएको र समाजवादको निर्माणका लागि नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताएका हुन् ।

प्रचण्डले कुन पार्टीले कति सिट ल्याउने त्यो महत्वपूर्ण विषय नभएको पनि बताएका छन् ।  उनले भने, ‘मूख्य कुरा संविधान कार्यान्वयन हो । समृद्धिको नयाँ मोडेल हामीले दिन सक्नुपर्छ । अबको दशक एक ठाउँमा केन्द्रित भएर विकासको नयाँ मोडेल दिएर संसारबाट बिदा हुने सपना हामीले बनाएका छौं ।’ 

प्रतिक्रिया दिनुहोस्