झण्डै २३ हजारलाई लाग्यो डेंगी, २९ जनाको मृत्यु



काठमाडौं । नेपालमा डेंगीका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगी फैलिएको र हालसम्म २२ हजार ९८८ जना डेंगी संक्रमित भएका छन् ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगीका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगीले यो वर्ष महामारीकै रुप लिएको छ ।

मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगी भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगी भएको छ ।

भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्