दशैं आइसक्यो तर मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै आएन चामल



मुगु । मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म ४ सय ४२ क्विन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो ।

दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिएका छन् । ती पसलबाट हरेक चामलको मूल्यमा प्रति किलोमा ७ रुपैँया छुट दिइएको छ । कार्यालय प्रमुख भामका अनुसार अरु समयको भन्दा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएपछि धेरै चामल बिक्री भएको छ ।

सुपथ मूल्य पसलमा मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिका र मुगुमकार्मारोगं गाउँपालिकाबाट प्रत्येक दिन तीन सयदेखि चार सयजना चामल लिन आउने गरेको कार्यालयले जानकारी दिएको छ । चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालनका लागि कम्पनी कार्यालय मुगुले १५ सय क्विन्टल चामल बिक्री गर्ने भएको छ ।

कर्णालीका अन्य जिल्लाभन्दा मुगु सडक सञ्जालसँग नजोडिनुले स्थानीयले सास्ती खेप्दै आइरहेका छन् । मुगुमकार्मारोगं गाउँपालिकाको पुलु डिपो केन्द्रमा अझैसम्म खाद्यान्न पुग्न सकेको छैन ।

पुलु डिपो केन्द्रका लागि ठेक्का प्रक्रिया नभएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ । पुलु डिपो केन्द्रमा चामल मौज्दात नहुँदा स्थानीयले पसलबाट चर्को मूल्य हालेर किन्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्