कांग्रेसको भोटले चुनाव जित्ने सपना नदेख्न प्रचण्ड-माधवलाई नेता घिमिरेको चेतावनी



काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले माओवादी र नेकपा एकीकृत समाजवादीलाई कांग्रेसको भोटले चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

शनिवार काठमाडौंमा आयोजित शेखर कोइराला समूहको खबरदारी सभालाई सम्बोधन गर्दै पूर्व केन्द्रीय सदस्य तथा युवा नेता घिमिरेले कांग्रेसको मत जोडेर मात्र जित्ने सपना नदेख्न गठबन्धनका दलहरूलाई चेतावनी दिएका हुन् ।

गठबन्धनका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालहरूले कांग्रेसको समस्या बुझ्नुपर्ने भन्दै कांग्रेस कार्यकर्तालाई रुवाएर गठबन्धनका उम्मेदवारले चुनाव नजित्ने चेतावनी दिएका हुन् ।

कांग्रेसभित्र अन्यायविरुद्ध विनम्रताको चरणबाट अब आक्रोशको चरण शुरु भएको भन्दै नेतृत्वले न्याय नगरे तेस्रो चरणमा विद्रोह हुने घिमिरेको चेतावनी छ । समानुपातिकको बन्द सूची तत्काल नसच्याए आक्रोशबाट विद्रोहको चरण शुरु हुने उनले बताए ।

देउवाले नै कांग्रेसमा ४० प्रतिशतको सुरुवात गरेको भन्दै आफूहरूले देउवाकै पथ पछ्याएको बताएका छन् । उनले कार्यकर्ताको न्यायका लागि आफू बलीमा चढ्न तयार भएको भन्दै अहिलेसम्म वडा सदस्यको पनि टिकट नपाएको र अब पनि टिकटको नाममा दास नबन्ने दाबी गरेका छन् ।

घिमिरेले भने- ‘म हाम्रो सभापतिलाई मात्र होइन प्रचण्डजी र माधव नेपालजीहरुलाई पनि भन्न चाहन्छु हामी आक्रोशको चरणमा छौँ,यसपछि विद्रोह हुनसक्छ । बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा,सन्देश पठाउँदैमा,घण्टौँ बैठक गर्दैमा मागे जति सीट पाइँदैन र पाएजति सीट जितिँदैन ।कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पुर्‍याउनुस् । कांग्रेसको भोटबाट जित्ने सपना देख्नुभएको छ भने त्यो सम्भव छैन ।’

घिमिरेले राजाविरुद्ध छाती खोलेर गणतन्त्रको शंखघोष गर्ने आफूहरु रहेको भन्दै प्रचण्डले जस्तो जंगलबाट चौकी नहानेको टिप्पणी समेत गरेका छन् । उनले आफूहरूले एक आवाज दिँदा हजारौं विद्रोहमा उत्रिने भन्दै पार्टी सभापतिको मनपरी नचल्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्