त्रियुगा नगरपालिकाले २ सय बढी करारका कर्मचारीलाई दैनिक ज्यालादारीमा काम लगाउने



उदयपुर । दशैंको मुखमा त्रियुगा नगरपालिकाले लामो समयदेखि करारमा कार्यरत कर्मचारीलाई दैनिक ज्यालादारी बनाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले करारका कर्मचारीलाई दैनिक ज्यालादारी (डोर हाजिरमा काम लगाउने) बनाउने निर्णय भएको हो ।

नगरपालिकामा करारमा रहेका अस्थायी र करारका २ सयभन्दा बढी प्राविधिक र अप्राविधिक कर्मचारीलाई चालू आर्थिक वर्षदेखि दैनिक ज्यालादारी बनाउने निर्णय गरिएको हो । नयाँ निर्णयअनुसार अबदेखि उनीहरूको मासिक रूपमा नभएर दैनिक हाजिरी (डोर हाजिर) भरेर मात्रै तलब निकासा हुनेछ ।

नगरपालिकातर्फ अस्थायी खरिदारसरहका १८ जनाको म्याद थप्ने निर्णय भएको छ भने अधिकृतदेखि नासु, खरिदार, सहजकर्ता, सफाइकर्मीसम्मले दैनिक ज्यालादारी डोर हाजिर भरेर मात्रै तलब पाउने नगर कार्यपालिकाले जनाएको छ । त्रियुगा नगरपालिकामा प्रशासन तथा प्राविधिक गरी ७१ जना स्थायी, १८ जना अस्थायी र ७५ जना करारका कर्मचारी गरि १६४ कर्मचारी छन् भने स्वास्थ्यतर्फ ३८ जना स्थायी र ५४ करारका कर्मचारी छन् । करारका कर्मचारीको सेवा अवधि थप नगर्ने नगरपालिकाको निणर्यसँगै अहिलेसम्म कामकाज गरेका कर्मचारीहरूले दैनिक ज्यालादारीमा डोर हाजिरमा काम गर्नु पर्नेछ ।

अधिकृतदेखि सरसफाइकर्मीसम्मका कर्मचारीहरूलाई दैनिक ज्यालादारीमा तलब निकासा गर्ने निणर्य गरेको एक कार्यपालिका सदस्यले जानकारी दिए । शिक्षा, स्वास्थ्य, प्रशासन, प्राविधिक तथा वडामा कार्यरत करारको कर्मचारीको करार सम्झौता २०७९ असार ३२ गते देखि सकिएको थियो ।

यसअघि ५९ जना करारका कर्मचारीको म्याद थप नगर्दा सामी परियोजना, महिला हिंसा तथा प्रतिकार्य योजना साझेदारी कार्यक्रमलगायतका कार्यक्रम प्रभावित भएका थिए । शाखा अधिकृत, नायव सुब्बा र खरिदार स्तरका कर्मचारीहरुलाई दैनिक ज्यालादारीमा तलब निकासा गर्ने निर्णय भएको नगरका प्रवक्ता तिलकबहादुर कटुवालले जानकारी दिए ।

उनीहरुले डोर हाजिर नगरेको दिन, सार्वजनिक बिदा तथा चाडपर्व बिदाको दिनको तलब अब नपाउने प्रशासन शाखाले जनाएको छ । उनीहरूले दैनिक ६ सय ९० रुपैयाँदेखि अधिकतम एक हजार तीन सय ८० रुपैयाँसम्म तलब पाउने प्रशासन शाखाले जनाएको छ । करार म्याद थप नभएका र अहिले डोर हाजिरमा तलब निकासा हुँदा उनीहरुको तलब २५ प्रतिशत देखि ३५ प्रतिशत सम्म तलब कटौती हुने भएको छ ।

कानुनअनुरुप इन्जिनियर, सबइन्जिनियर, अमिन, सुपर भाइजरलाई डोर हाजिरमा राख्न सकिन्छ, तर अप्राविधिकलाई डोर हाजिरमा लगाउन पाइँदैन । कानूनत प्राविधिक कर्मचारीबाहेकले अरुलाई ज्यालादारीमा लगाउन पाउने व्यवस्था कानुनमा छैन् । नगरपालिकाको सरसफाइकर्मी, इलेक्ट्रिसियन, हलुका सवारी चालक, नगर प्रहरी लगायतले दैनिक ज्यालादारीमा बढीमा सात सय रुपैयाँसम्म पाउने ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्