एमालेसँग एक्ला-एक्लै चुनाव भिड्ने हैसियत सत्तारुढ दलसँग छैन : रायमाझी



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्ने हैसियत नै नभएको दावी गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरूले कांग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको आरोप लगाएका छन् ।

नेकपा (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले शनिबार (आज) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेपछि सत्तारुढ दलहरू गठबन्धन गरेरै निर्वाचनमा जान बाध्य भएको दोहोर्‍याए

सचिव रायमाझीले सत्तारुढ गठबन्धन देशी/विदेशी प्रतिक्रियावादीहरूको इसारामा चलेकाले उनीहरूलाई नेपाली जनताले आगामी निर्वाचनमा परास्त गर्नुको विकल्प नभएको बताएका छन् ।

उनले भने, ‘नेकपा (एमाले)सँग आज निर्वाचनमा एक्लै भिड्ने कसैको हिम्मत छैन भन्ने कुरा उनीहरूले गठबन्धन बनाएबाट पुष्टि हुन्छ । तथ्यले त्यही बताउँछ । आफ्नो अस्तित्व रक्षाका लागि पनि कतिपय दलहरूले गठबन्धन आवश्यकता हो भनेर कांग्रेसको पुच्छर बनिरहेका छन । गठबन्धन गरेपनि उनीहरूलाई सजिलो छैन । एउटा पार्टी भित्र त प्रत्यक्ष र समानुपातिक सिट बाँडफाँडमा समस्या भइरहेको छ भने उनीहरूलाई झन गाह्रो हुनेछ । यो गठबन्धन देशी, विदेशी प्रतिक्रियावादीहरूले बनाएका हुन । यो उनीहरूकै इसारामा चल्छ ।’

सचिव रायमाझीले केपी ओली नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिका लागि गरेको कामलाई नेपाली जनताले कहिल्यै नभुल्ने समेत उल्लेख गरेका छन् । उनले सत्तारुढ गठबन्धनले चुनाव जिते मुलुक २० वर्षपछि पर्ने भन्दै एमालेको पक्षमा मतदान गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्