कांग्रेस बलियो भएकाले मात्रै संविधान जारी भयो : नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरूको विस्तारै चासो बढ्नु सकारात्मक भएको भन्दै युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार मोरङ समाज काठमाडौँले दशैँतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरुलाई सिपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

उनले स्वास्थ्य, शिक्षा, रोजगारीमा जोड दिँदै सिपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारले जनतालाई अनुभूति गर्नेगरी काम गर्ने उनले बताए ।

नेता सिंहले संविधानको कार्यन्वयन गर्न र गाउँगाउँमा सिंहदरबारको अवधारणालाई साकार गर्न नेपाली कांग्रेसको जित आवश्यक रहेको जिकिर गरेका छन् ।

कांग्रेस कमजोर हुँदा संविधानसभा संविधान बनाउन विफल भएको भन्दै उनले कांग्रेस संसद्मा बलियो भएपछि मात्र संविधान जारी भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्