अर्को प्रतियोगिताका लागि मिहिनेत जारी : कप्तान थापा



काठमाडौं । एलिसा थापा, नेपाली रग्बी टोलीकी कप्तान । २०७२ सालमा यस खेलमा प्रवेश गरेकी थापाले टोलीको नेतृत्व गरेको पनि आधा दशकभन्दा बढी भइसकेको छ । उनै थापासँग नेपालमा बढेको रग्बीको सक्रियता र यसको सम्भावनाबारे द नेपालटप दैनिकले गरेको कुराकानीको सार–सङ्क्षेप :

नुवाकोटको एउटा ग्रामीण परिवेशमा हुर्किएको तपाईंको यस खेलमा प्रवेश चाहिँ कसरी भएको हो ?

२०७२ सालको महाभूकम्पपछि म स्नातक तहको पढाइ सकेर फुर्सदको समयमा थिएँ । सङ्घका हालका सचिव गोविन्द घिमिरेको नेतृत्वमा रग्बीको टोलीले पीडिको उद्धार गरेको थियो । उहाँ र म फेसबुकमा साथी थियौँ। उहाँले स्टाटसमा उद्धार कार्य, रग्बी बल र सङ्घका गतिविधिबारे फोटो राख्नुभएको थियो । यसले मलाई रग्बी खेलमा चासो जगाएको हो ।

यसपछि उहाँसँगको भेटघाटको क्रममा मैले यो कुरा उठाएँ र चासो दिएँ। उहाँले त्यस खेलको प्रशिक्षण हेर्न मलाई दशरथ रङ्गशालामा बोलाउनुभयो । म रङ्गशालामा आउँदा अन्दाजी ९ या १० जना केटा तथा ५/६ जना केटीहरू प्रशिक्षण गरिरहेका थिए । यो देखेर मलाई पनि जाँगर पलायो र म खेल्न थालेँ ।

नेपालमा लोकप्रिय भइरहेका अन्य थुप्रै खेल थिए । ती सबै खेलमा नै छाडेर रग्बीमै आकर्षित हुनु आश्चर्य होइन र ?

म बच्चा समयदेखि अन्यले गरेकोभन्दा फरक मन पराउने । सानो छँदा मसरहका अन्य छोरी मान्छेहरू गाउँमा झुम्काको पुतलीमा बिताउँथे । सानो उमेरदेखि नै मलाई फरक कुरामा चासो जाग्थ्यो।
नयाँ खेलको नाम सुनेपछि नयाँ खालको चुनौती स्वीकार गरेर नै म यस खेलमा लागेकी हुँ। आफैँ लागिपरेर केही सुधार गर्न सक्छु भन्ने विश्वासले यो खेलमा लगातार लागेकी हुँ।

नेपाली खेलकुदको वास्तविक अवस्था देखेपछि खेलमा लागेकामा पछुतो छैन ?

बच्चामा मैले अफिसियल खेलको कल्पनासमेत गर्न पाइनँ । विद्यालय तहमा रहँदा केही खेलमा रमाए पनि प्लस टु र स्नातक तहको अध्ययन गर्ने समयमा ती सबै कुरा ठप्प भए। जब मैले रग्बीमा लागेर अफिसियल खेल खेल्ने अवसर पाएँ, मलाई बच्चा बेलादेखिको एउटा सपना पूरा भए जस्तै भयो । मलाई खेलकुदको समस्या। यहाँका विविध विषयमा थाहा थिएन । अन्य सामाजिक संस्थामा संलग्न भए पनि खेलकुदको मूलधारमा संलग्न थिइनँ ।

त्यसो त नेपाली समाजमा छोरी मान्छेका लागि रीतिरिवाज र चलिआएको सामाजिक मान्यताका कारण यावत् कठिनाइ छन् । म सामाजिक रूपले सक्रिय भएको तथा नेतृत्व क्षमता देखेर होला, राष्ट्रिय टोलीको नेतृत्वको अवसर पनि पाएँ । त्यसपछि नै मैले यस क्षेत्रमा धेरै समस्या भएको थाहा पाएको हुँ । त्यसपछि नै यसलाई कसरी सुधार गर्ने र समस्या कसरी समाधान कम गर्नेबारेमा चासो जाग्न थालेको हो।

समस्या देखाउन होइन, यसका समाधानमा आफैँ लागेर पछि आउने पुस्तालाई खेलकुदमा आकर्षित र प्रोत्साहन गर्न सक्छौँ जस्तो लागेको छ। आमनेपाली परिवारका आफ्नै समस्या हुन्छन् ।

खेलकुद र सामाजिक काममा मात्र हिँड्दा घरपरिवारबाट गुनासो आएन ?

पारिवारिक रूपमा म मध्यम वर्गीय परिवारमा जन्मेर हुर्केकी हुँ । हरेक मान्छेका आफ्ना सपना हुन्छन् । छोराछोरीका बारेमा पनि हुन्छन् । मेरा अभिभावकको पनि एउटा सपना थियो । मेरो शैक्षिक अवस्था राम्रो भएकाले शिक्षकहरूको पनि केही सपना थियो । विविध कारणले म अभिभावक र शिक्षकहरूले भने जस्तो हुन सकिनँ ।

म विद्यालय तहको राम्रो विद्यार्थी भए पनि कलेज पढ्ने समयमा व्यवस्थापनमा अध्ययन गर्दै राजनीति गर्दै गएँ। बच्चामा नै मलाई राजनीतिक चेत थियो । स्नातक अध्ययन गर्दा म सङ्गठनमा आबद्ध भएँ। साङ्ठनिक रूपमा अगाडि बढ्ने बाटो बढाएँ । पढाइलाई अघि बढाउँदै जीवनयापनका लागि अर्थोर्पाजनको कामलाई पनि निरन्तरता दिएँ । म फिजिकल फिटनेस नै परीक्षण नगरी यस खेलमा आबद्ध भएकी हुँ । रग्बी जस्तो फिजिकल कन्ट्याक्टको खेलमा आबद्ध हुँदा अभिभावकलाई चिन्ता थियो। तर, अवरोध भने भएन ।

यसै खेलले मलाई अन्तर्राष्ट्रिय स्तरमा एक्सपोज दियो । मलाई टोलीको नेतृत्व गर्ने अवसर पनि दियो । यसकारण मलाई परिवारबाट कुनै रोकतोक भएन ।

पछिल्लो समय इन्डोनेसियामा भएको एसियन च्याम्पियनसिपमा नेपाली टोलीले आशातीत प्रदर्शन गर्न सकेन । के कमजोरी थियो ?

त्यस प्रतियोगितामा हाम्रो चौथो सहभागिता हो । मेरो नेतृत्वमा तेस्रो पटकको सहभागिता हो । यस प्रतियोगितामा हामीले सोचे जस्तो परिणाम ल्याउन सकेनौँ । राज्यको चासो कम, कोभिड र कोभिडपछि नियमित प्रशिक्षणको अभावले हामीलाई प्रभावित गरेको थियो । मैदानको अभावमा पनि हामीले नियमित प्रशिक्षण गर्न पाएनौँ।

यी समस्याका बाबजुद खेलाडीको १ महिनाको मेहनतकै आधारमा हामीले शीर्ष ४ को लक्ष्य राखेका थियौँ । हाम्रो टोलीले राखेको त्यो लक्ष्य पूरा गर्न नसकेका कारण कप्तानको रूपमा म आफू पनि हाम्रा समर्थकका माझ दुःख व्यक्त गर्न चाहन्छु । साथै अर्को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन र परिणाम ल्याउन मेहनत जारी राख्नेछौँ ।

प्रतिक्रिया दिनुहोस्