२ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब



काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को पहिलो २ महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ । सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ।

भन्सार विभागले आज जारी गरेको तथ्याङ्क अनुसार गत साउन र भदौ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब २८ करोड ८९ हजार रुपैयाँ रहेको छ।

विभागकाअनुसार उक्त समयमा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको आयात १३.०१ प्रतिशतले घटेको छ .।

अघिल्लो आर्थिक वर्ष २०७८-७९ को पहिलो २ महिनामा नेपालले ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो २ महिनामा नेपालले २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु विभिन्न देशमा निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात ३४.८८ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो २ महिनामा नेपालले ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।

पछिल्लो २ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९.४५ प्रतिशतले घटेको विभागले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७८-७९ को पहिलो २ महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रुपैयाँ रहेको थियो।

अघिल्लो आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपालको कुल वैदैशिक व्यापार १५.७० प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको सुरुवाती २ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्