सन्दीपले भने- मानसिक तनावले आइसोलेसनमा बसेको छु, नेपाल फर्किने तरखरमा छु



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल फर्किने तरखरमा रहेको बताएका छन्। आइतबार फेसबुकमा पोस्ट गर्दै उनले आफूविरुद्धको उजुरी डटेर सामना गर्न आफू नेपाल फर्किने तयारीमा रहेको बताएका हुन् ।

सन्दीपले आफूविरुद्ध झुटो जाहेरी परेको र भदौ २२ गते मात्र आफूले उक्त कुरा थाहा पाएको दाबी गरेका छन्। फेसबुकमा लामो सन्देश लेख्दै सन्दीपले यसबीचमा आफू मानसिक तनाव र स्वास्थ्य खराबीको अवस्थाबाट गुज्रेका कारण नेपाल आउन नसकेको बताएका छन्।

उजुरीपछि केही विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा आफ्नो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आएको पनि सन्दीपले उल्लेख गरेका छन्।

‘मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो। के गर्ने, के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो। मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आईसोसेसनमा राखेर बसेको छु।’

‘झुट्टा जाहेरी’ कै भरमा अपराधीको चित्रणले मानसिक र शारीरिक रुपमा प्रभावित भइ आफू असन्तुलित अवस्थामा पुगेको पनि सन्दीपले उल्लेख गरेका छन्। ‘डाक्टरहरुको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ। जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,’ सन्दीपले लेखेका छन्। सन्दीपले अहिले आफू एउटा गम्भीर षड्यन्त्रको सिकार भएको दाबी गरेका छन्।

‘राष्ट्रको लागि दिलोज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षड्यन्त्रको सिकार भएको महसुस भएको छ,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुटा जाहेरी प्रपञ्चहरुको मैले कानुनी लडाइँ लड्ने छु।’

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ। लामिछाने सम्पर्कविहीन भएपछि उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्