२ महिनामा कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब



काठमाडौं । चालू आर्थिक वर्ष २०७९÷२०८० को २ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब रुपैयाँ भएको छ, जसमा नेपालले २ खर्ब ४४ अर्ब रुपैयाँ व्यापार घाटा बेहोर्नुपरेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा नेपालले विभिन्न देशबाट २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ भने २८ अर्ब ६८ करोड ४ लाख रुपैयाँ बराबरको सामान मात्र निर्यात गरेको छ ।

आर्थिक वर्षको पहिलो २ महिना वैदेशिक व्यापार गत वर्षको पहिलो २ महिनाको अवधिसँग तुलना गर्दा कुल वैदेशिक व्यापार भने १५ दशमलव ७० प्रतिशतले घटेको छ। गत वर्षको पहिलो २ महिना अवधिमा चालू आर्थिक वर्षको सोही अवधिमा आायात १३ दशमलव ०१ प्रतिशत र निर्यात ३४ दशमलव ८८ प्रतिशतले घटेको छ । व्यापार घाटा पनि गत वर्षको तुलनामा ९ दशमलव ४५ प्रतिशतले घटेको छ।

गत १३ वैशाखमा मुद्रा सञ्चित घटेपछि सरकारले विभिन्न १० वटा वस्तुको आयातमा लगाएको प्रतिबन्ध र रुस–युक्रेनबीच भएको युद्धका कारण नेपालको पछिल्लो कुल वैदेशिक व्यापार गत वर्षको भन्दा कम भएको भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।

नेपालबाट भारततर्फ निर्यात हुने प्रशोधित खाने तेल घटेको हुँदा निर्यातमा असर परेको उनले बताए। नेपालबाट निर्यात हुने प्रशोधित खाने तेलभन्दा भारतमै सस्तोमा पाइने भएपछि नेपालको तेल निर्यात कम हुन थालेको उनले बताए।

भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७८/२०७९ को भदौ मसान्तसम्ममा नेपालले ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार १५ दशमलव ७० प्रतिशतले घटेर ३ खर्ब २ अर्ब रुपैयाँमा खुम्चिएको हो।

विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो २ महिनाको अवधिमा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको सामान आयात हुँदा पेट्रोलियम पदार्थ मात्र ५० अर्ब ८८ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

पहिलो २ महिनामा फलाम र स्टीलका वस्तुहरू २४ अर्ब ३५ करोड रुपैयाँका आयात भएका छन् भने विद्युतीय सामग्रीको १८ अर्ब २३ करोड रुपैयाँ बराबरका आयात भएका छन् । यस्तै, औषधिजन्य वस्तुको आयात १० अर्ब १७ करोड रुपैयाँ बराबरको भएको छ ।

नेपालको ११६ वटा देशमध्येमा सबैभन्दा धेरै छिमेकी देश भारत र चीनसँग व्यापार हुने गरेको छ । पहिलो २ महिनामा भारतबाट नेपाली व्यवसायीले १ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ ।

२ महिनाको अवधिमा नेपाली उत्पादन भारततर्फ जम्मा १९ अर्ब ८३ करोड रुपैयाँ बराबरको मात्र भएको छ । यस्तै, चीनबाट ३७ अर्ब रुपैयाँको सामान आउँदा मात्र १२ करोड रुपैयाँको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्