गण्डकीका सांसद र पदाधिकारीले बुझाएनन् गाडी र ल्यापटप



पोखरा । गण्डकी प्रदेशसभाका पदाधिकारीले संसद सचिवालयबाट लिएको गाडी र ल्यापटप फिर्ता गरेका छैनन् । निर्वाचन आयोगले असोज १ गतेदेखि नै कार्यकाल सकिएको बताएपछि उनीहरुको कार्यकाल स्वतः सकिएको छ । तर, पदाधिकारीहरुले आफ्नो कार्यकाल अझै बाँकी रहेको दावी गर्छन् । संसद सचिवालयले पनि कार्यकाल सकिएको र सुविधा फिर्ता गर्न पत्र पठाएको छैन ।

गण्डकी प्रदेशसभा सचिवालयबाट पदाधिकारीले गाडी सुविधा लिएका छन् । ६ जनाले ल्यापटप पाएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङदेखि दलका संसदीय नेताहरु, प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरु कसैले पनि गाडी सचिवालयमा फिर्ता गरेका छैनन् ।

गाडी सुविधा लिनेहरुमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, जनमोर्चा संसदीय दलका नेता पियारी थापा, एमाले प्रमुख सचेतक मायानाथ अधिकारी, कांग्रेस प्रमुख सचेतक ओमकला गौतम, माओवादी प्रमुख सचेतक गायत्री गुरुङ र जनता समाजवादी पार्टीका प्रमुख सचेतक धनमाया लामा छन् ।

यस्तै, विधायन समिति सभापति विष्णुप्रसाद लामिछाने, सार्वजनिक लेखा समिति सभापति रोशन गाहा, अर्थ तथा विकास समिति सभापति दीपक कोइराला र प्रदेश मामिला समिति सभापति खिमविक्रम शाहीले गाडी र ल्यापटप सुविधा लिएका थिए । आफूहरु गाडी फिर्ता गर्न गए पनि कार्यकाल नसकिएको भन्दै सचिवालयले नै गाडीको चावी लिन नमानेको विधायन समिति सभापति लामिछाने बताउँछन् ।

‘म गाडी फिर्ता गर्नकै लागि असोज १ गते काठमाडौंबाट पोखरा आएको थिएँ । सचिवज्यूले अहिले फिर्ता गर्नु पर्दैन भन्नुभयो । कार्यकालबारे माथिबाट कुनै परिपत्र नआएको र अझै सुविधा प्रयोग गर्न मिल्ने भनेपछि म फर्किएको हुँ,’ उनले भने, ‘त्यो दिनदेखि मैले गाडी प्रयोग गरेको छैन । म काठमाडौं छु, गाडी पोखरामा छ ।’ १४ गते संसद सचिवालयले नै सबैलाई विदाइ कार्यक्रम आयोजना गरेको र सोही दिन एकै पटक फिर्ता गर्ने तयारी भएको लामिछानेले बताए ।

प्रदेशसभा सचिवालयका स्टोर प्रमुख झनक अधिकारीले भने कसैले पनि गाडी बुझाउन नआएको बताए । ‘सभामुख र सचिव ज्यूसँग भेटेर जानुभएको भए मलाई थाहा भएन । तर मसँग भेट भएको छैन,’ उनले भने, ‘गाडी फर्काउनुभएको भए त्यसको अभिलेख राख्ने मैले हो । अहिलेसम्म कोही आएजस्तो लागेको छैन । कोही माननीय ज्यू आएर फर्किनुभएको चाहीँ सुनेको छु ।’ पदाधिकारीहरुले १४ गते नै गाडी र सुविधा फिर्ता गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्