शुभ साइतमै राखियो हनुमानढोका दसैंघरमा जमरा (फोटो फिचर)



काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत रुपमा जमरा राखिएको छ । सोमबारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमराराखिएको हो । हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत १०ः२३ बजे जमरा राखिएको हो । 

सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । सोमवार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँघरमा जमरा
छर्ने गरिन्छ । 

घटस्थापना गर्दा पूजाकोठा वा दशैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ । नवरात्री भर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । 

नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री पूजाअर्चना गरिन्छ । जमरा राखेपछि हनुमान ढोका दरबारका पूजारी सागर खरेलले नियमपूर्वक मन्त्रोच्चारण गरी घटस्थापना र जमरा राखिएको बताए ।

हनुमान ढोका दरबार विशेषतः जमरा जौ को राख्ने गरिन्छ । तर आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ।

प्रतिक्रिया दिनुहोस्