लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प स्वतन्त्र हुनसक्दैन : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् ।

सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य-मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

सभामुख सापकोटाले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताए । उनले सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको बताए । उनले पर्वतीय क्षेत्रको विकास गर्नसके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने जिकिर गरे ।

सभामुख सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको पनि बताएका छन् । उनले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताए । उनले पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरूको क्षणिक स्वार्थको लागि मात्रै भाषण गर्ने गरेको दाबी गरे ।

सभामुख सापकोटाले स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भए पनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताए ।

उनले राजनीतिक पार्टीभित्र युवाहरूलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताए । उनले नेताहरूले कार्यनीतिक फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको बताए । उनले राजनीतिक पार्टीहरुले युवालाई प्रोत्साहन गर्ने विषयमा ध्यान दिन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्