दशैँमा २० लाखले काठमाडौं उपत्यका छाड्ने



काठमाडौं । दशैंमा काठमाडौं काठमाडौं उपत्यकाबाट आआफ्नो घर फर्कने यात्रुको संख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुंगा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ ।

यसपटक दशैंमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताएका छन् ।

अघिल्लो २ आर्थिक वर्षमा कोरानालगायत कारणले दशैंका बेला पनि उपत्यकाबाट बाहिर जानेको संख्या न्यून थियो । तीन वर्षअघि काठमाडौं उपत्यकाबाट दशैंका अवसरमा घर फर्कनेको संख्या २० लाखको हाराहारीमा रहेको तथ्यांक छ । दशैंमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलंकीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ ।

सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले दशैं मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएमा खबर गर्न आग्रह गरेको छ ।

यातायात व्यवसायीले पनि दशैंका लागि पर्याप्त सवारीसाधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारी साधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ ।

अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको संख्या उल्लेख्यरूपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारीसाधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्