विद्यार्थीहरूलाई ओपीडी सेवामा ५० प्रतिशत छुट : अनेरास्ववियु



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरूलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको बताएको छ । 

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी सेवामा मन्त्रालयसँग ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो ।

मन्त्रालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालहरूमा उपचार गर्न जाने विद्यार्थीहरूलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको र सबै प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी अस्पतालहरूमा समेत यसै बमोजिम ५० प्रतिशत छुटको व्यवस्था मिलाउन अनुरोध गर्ने भनी मन्त्रीस्तरीय निर्णय भएको जानकारी गराएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष सुदेश पराजुलीले सरकारी, सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूलाई सरकारी अस्पतालहरूमा ओपीडी सेवामा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्ने सहमति भएको बताएका छन् । उनले सरकारी अस्पतालको ओपिडी सेवामा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू हुने बताए। उनले अनेरास्ववियुले यसलाई विद्यार्थी आन्दोलनको उपलब्धिको रुपमा लिएको बताएका हुन् ।

उनले भने, ‘अनेरास्ववियुले २०७९ श्रावण ४ गते ज्ञापन पत्र र भाद्र ३० गते स्मरण पत्र बुझाउँदै सम्पूर्ण सरकारी, सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूलाई अस्पतालहरूमा ओपीडी सेवा निःशुल्क र सबै खाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गरियोस् भन्ने माग राखेको थियो ।

हाम्रो मागलाई सम्बोधन गर्दै २०७९ असोज ९ गते स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारी अस्पतालको ओपिडी सेवामा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू हुने भएको छ । अनेरास्ववियुले यसलाई विद्यार्थी आन्दोलनको उपलब्धिको रुपमा लिएको छ ।’

विद्यार्थीको परिचयपत्रको आधारमा सहुलियत दिने अस्पतालहरूमा कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, परोपकार प्रसुती तथा स्त्री रोग, आयुर्वेद चिकित्सालय लगायतका देशभरका २७ वटा अस्पताल छन् ।

प्रतिक्रिया दिनुहोस्