अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म



काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्म ‘प्रेमगीत ३’ लाई हिन्दी भाषामा डब गरेर भारतीय बजारमा प्रदर्शन गराउँदा फिल्मकर्मीबाट राम्रै तारिफ पाए । सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो नै लाग्यो ।

तर त्यही फिल्मलाई नेपाली फिल्मसरह सुविधासहित नेपाली थिएटरमा प्रदर्शन गर्नुपर्ने माग राखेपछि केही फिल्मकर्मीले विरोध पनि गरे । आफ्नो फिल्मलाई चलचित्र विकास बोर्डले प्रदर्शनमा अवरोध गरेको भन्दै फिल्मका अभिनेता प्रदीप खड्काले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा नै मागे ।

कतिपय फिल्मकर्मीले नेपालको राष्ट्रिय भाषामा वैदेशिक हस्तक्षेपसम्म भने । तर, जसले जे भने पनि नेपाली र हिन्दी भाषामा डब भएको यो फिल्म अहिले थिएटरमा प्रदर्शनरत छ । यही परिप्रेक्ष्यमा फिल्मकर्मीहरू राम्रो विषयवस्तु भएका फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शन गराउन सम्भव हुने तर्क राख्छन् । गुणस्तरीय कथा, बजेट र वितरकले मन पराउने किसिमका फिल्म बनाउन सके अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मले स्थान पाउनेमा उनीहरू ढुक्क छन् ।

नेपाल चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली नेपालमा बनिरहेका फिल्मले भारत तथा अन्य विदेशी बजारमा डबिङ गरेर रिलिजको अवसर पाउने सम्भावना न्यून रहेको बताउँछन् । ‘यी फिल्म रिलिज गर्न असम्भव त होइन । तर हामीले त्यो किसिमको पहुँच, लिङ्क, बजेट र हाम्रो गुणस्तरलाई त्यहाँको वितरकले मन पराउनुपर्छ । उताको वितरण च्यानलमा छिर्न हामीलाई त्यति सजिलो छैन’, जनक भन्छन्, ‘मैले पनि यही सोचले बनाउँन चाहेको थिएँ । तर सकेको छैन । मिलन चाम्स, झरना थापा, निखिल उप्रेतीले पनि गर्न खोज्नुभएको थियो । ‘प्रेमगीत ३’ को जस्तो च्यानल बनाउन सकेको भए सबैले फिल्म बनाएर दर्शकमाझ ल्याइसक्थे ।’

जनकको बुझाइमा भारतीय बजारमा नेपाली फिल्म लैजाने कुरामा ‘प्रेमगीत ३’ लाई सबैले सजिलो भनेर सोचे पनि त्यो सोचेजस्तो सजिलो छैन । ‘भारतीय बजारमा त्यहाँका वितरकले जुन किसिमको फिल्मको टेक्स्चर, कथा, प्रस्तुति खोजिरहेका हुन्छन् । ती चिजहरू हामीले मिट गर्न सक्यौँ भने चाहिँ सम्भावना होला । नत्र भने गाह्रै हुन्छ’, जनक अगाडि भन्छन्, ‘किनभने अहिले हिन्दी फिल्ममा पनि साउथ इन्डियन फिल्मले चुनौती दिइरहेको अवस्था छ । मेरो बुझाइमा भारतीय वितरक तथा निर्मातालाई ‘प्रेमगीत ३’ को मुस्ताङको लोकेसन, पात्रको प्रस्तुतीकरणले तान्यो ।’

जनकदीप नेपाली निर्माताले भारतीय शैलीको मापदण्डबाट फिल्म बनाउने र उताको निर्माताबाट परामर्श लिन सक्यो भने बजारमा जान असम्भव नरहने दाबी गर्छन् । उनले बलिउडको जस्तो बजेटमा नेपाली फिल्म बन्न असम्भव रहेको स्वीकार्दै नेपालमा ५ वटा कम्पनी मिलेर ठूलो बजेट र क्यानभास तथा राम्रो कथावस्तुमा फिल्म बनाउन सके अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म लैजान सकिने बताए ।

सामान्यतयाः नेपालमा फिल्म निर्माण गरिसकेपछि विदेश प्रदर्शनको अधिकार बिक्री गरेर विदेशमा रहेका नेपाली माझ सार्वजनिक गरिन्छ । फिल्म फेस्टिभलमा छनोट भएका फिल्ममा सबटाइटल गरेर प्रदर्शन गरिन्छ । तर ‘प्रेमगीत ३’ कै जस्तो हिन्दी भाषामा डबिङ गरेर भारतीय बजारमा प्रदर्शन गरिएको भने सम्भवतः पहिलो पटक नै हो ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला विदेशी भाषामा डबिङमार्फत नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय दर्शकसम्म पु¥याउने कामको बाटो ‘प्रेमगीत ३’ ले खोलेको बताउँछिन् । ‘यस्तो कामले नेपाली फिल्मप्रति माहोल बढ्छ । अन्तर्राष्ट्रिय बजारमा पुग्नका लागि सबै भाषामा डबिङ गर्दा राम्रो हो’, उनी भन्छिन्, ‘तर यसमा चुनौती पनि उत्तिकै छ । हामीले आफ्नो माटोको विषयवस्तु देखाउने हो । हामीले बजार, यथास्थिति, सुविधादेखि यहाँ पाइने विषयवस्तुलाई देखाउने हो । प्राविधिकदेखि अन्य कुरामा विदेशी फिल्मकर्मी हामीभन्दा माथि छन् । उनीहरूकै जस्तो फिल्म बनाउन सक्दैनौँ । तर प्रयास ग¥यौँ भने त्यसमा असम्भव भन्ने कुरा हुँदैन ।’

फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भाषामा डब गरेर नेपालमा नेपाली फिल्मसरह सुविधा दिएर प्रदर्शन गर्न पाउनुपर्छ भनेर निर्माण पक्षले माग गरेपछि यसविरुद्ध नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले आवाज उठाए । अध्यक्ष खड्का आफूले आपत्ति जनाउनु स्वाभाविक कुरा रहेको दाबी गर्छन् ।

‘नेपालमा नेपालीभाषी हुँदाहुँदै नेपालको भाषालाई विदेशी बनाएर नेपाली दर्शकमाथि भाषिक अतिक्रमण गर्ने जुन डिजाइन भएको छ, यसमा मेरो व्यक्तिगत आपत्ति हो । हाम्रो नियम अनुसार चल्नुपर्छ भन्ने मेरो भनाइ हो । बाउ नेपाली, छोरो नेपाली, आमा नेपाली । छोरो अमेरिका गएर उतैको नागरिकता लियो । त्यही छोरो विदेशी भिसा लगाएर नेपाल आउँदा उसले प्रत्येक दिन कर तिर्छ । नेपाली भाषालाई हिन्दीमा डब गरेर नेपालमा प्रदर्शन गर्न ल्याउँदा यहाँ कर तिर्न उहाँहरू किन आनाकानी गर्नुहुन्छ ? यही कुरामा मेरो आपत्ति हो’, नवल भन्छन् ।

उनले नेपाली फिल्मले विश्वमा बजार खोज्नु राम्रो र प्रशंसनीय काम भएको बताए । ‘विदेशको नियमअनुसार हामीले पनि हाम्रो फिल्म चलाउन पाउनुपर्छ । यसमा राम्रो विषयवस्तु र गुणस्तरीय फिल्म बन्नुपर्छ । राज्यले पनि सहजीकरण गर्नुपर्छ’, उनी भन्छन् ।

फिल्म वितरक तथा निर्माता गोपालकाजी कायस्थ नेपालमा बनिरहेका सबै फिल्मलाई डबिङ गर्न सम्भव नहुने बताउँछन् । ‘किनभने ती फिल्म नेपाली दर्शकका लागि बनेका हुन् । नेपालमा हातमा गन्न सकिने सङ्ख्यामा मात्र ठूला बजेटका फिल्म बन्छन् । तर ती सबै फिल्मलाई डबिङ गरेर प्रदर्शन गर्न सम्भव हुँदैनन् । उदाहरणका लागि हिजो आजका कुरा, छक्का पन्जा जस्ता फिल्म डबिङ गरेर देखाउनु असम्भव नै हो । कि त हामीले एक्सनपरक अथवा नेपाली मौलिकता झल्कने फिल्म बनाउन सक्नुप¥यो । जुन फिल्मप्रति विदेशी दर्शकको पनि चासो हुन्छ’, गोपाल भन्छन् ।

भारतमा अभिनेता प्रदीप खड्कालाई ‘छोटा आमिर’ भनेको उदाहरण दिँदै गोपालले दर्शकमाझ लोकप्रिय रहेका कलाकारलाई राम्रो कथावस्तुमा अभिनय गराएर त्यो फिल्मलाई विदेशी भाषामा चलाउन सकिने तर्क राख्छन् । फिल्म वितरण कम्पनी डीसीएनका अशोक शर्मा अन्तर्राष्ट्रिय बजारका लागि गुणस्तरीय फिल्म चाहिने बताउँछन् ।

‘कति फिल्मले गुणस्तरमा ध्यान दिन्छन् त्यो आफ्नो ठाउँमा छँदै छ, अन्तर्राष्ट्रिय बजारका लागि भोलि फिल्म बनाउँदा निर्माताले त्यो हिसाबले सोच्ला । कथावस्तु, कलाकार र गुणस्तरमा ध्यान देला’, अशोक भन्छन्, ‘त्यस्तो कसैले योजना बनाएको हुन सक्छ । तर मूल कुरा भनेको अन्तर्राष्ट्रिय गुणस्तरमा नै ध्यान दिनुपर्छ भन्ने हो । नेपाली भएका अन्य देशमा नेपालीलाई मात्र देखाउने हिसाबले फिल्म बनाउने एउटा प्रक्रिया हो । तर नेपालीभाषीबाहेक अन्य दर्शकलाई देखाउन सबटाइटल वा डबिङकै आवश्यकता पर्छ । अनि मात्र हामी अन्तर्राष्ट्रिय बजारमा उभिन सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस्