बजार अनुगमनमा ध्यान देऊ



काठमाडौं । बजार नै हो अहिले सबै थोकको केन्द्र । नाना, छाना, खानादेखि सबै कुरा बजारमै पाइन्छ । बजार बलियो, भरपर्दो, विश्वसनीय भएमा मात्र आमजनको स्वास्थ्यदेखि जीवनशैलीसम्म सुरक्षित हुन सक्छ ।

तर, पछिल्लो समय बजार जनहित केन्द्रित नभएर स्वार्थ केन्द्रित, आम्दानी केन्द्रित बन्दै गएको छ । जनहित, जनस्वास्थ्य र जनचासोलाई भन्दा उद्योगी, व्यापारीका हित र स्वार्थलाई बढी महत्व दिइएको पाइन्छ । यसको परिणाम बजारले वस्तु र सेवाको विनिमय र सेवाभन्दा स्वार्थको लेनदेन बढी गरिरहेको छ ।

अवश्य हो-बजारमा सेवासँगै स्वार्थ हुन्छ, त्यो स्वार्थ अर्थ किन्द्रित हुने गर्छ । उत्पादनबाट मुनाफा कमाउनु उद्योगी, व्यापारीको उद्देश्य हो । उत्पादनमा लगानी मुनाफाकै लागि हुन्छ/हुनुपर्छ । तर, नेपाली बजारलाई हेर्दा उत्पादन, मुनाफा र उपभोक्ताको हितमा तालमेल देखिँदैन । उपभोक्तालाई मर्का नपारी आफ्ना वस्तु वा सेवाको विनिमय, व्यापार गरी आम्दानी गर्नु उत्पादक, व्यापारीको उद्देश्य हुनुपर्छ । तर, नेपाली बजारमा यस्तो देखिँदैन ।

हरेक दिनजसो गुनासा आउँछन् – बजार अत्यधिक महँगो भयो । बजारमा अस्वस्थ खाद्य सामग्रीको बिक्री वितरण भयो । बजारमा म्याद गुज्रिएका र कमसल सामग्रीले हामी (उपभोक्ता) ठगियौँ । यस्ता गुनासा मिडियामा त प्रशस्त नै आइरहेका छन्, सँगसँगै सरोकारवाला राज्यका निकायहरूमा पनि उत्तिकै उजुरी परेका पनि पाइन्छ । तर, सरोकारवाला नियामक निकायहरू यसप्रति बेखबरझैँ बनिदिने गरेका छन् । उजुरी र गुनासालाई बेवास्ता गरिरहेका छन् ।

अझ यस्ता गुनासा चाडपर्व विशेषमा बढी आउने गर्छन् भने कतिपय अवस्थामा नाकाबन्दी वा कुनै विपद्का बेला आउने गर्छन् । कालोबजारी र बेइमान व्यापारीहरूका कारण जनसाधारणले पटकपटक दुःख पाउने, अभाव झेल्ने अवस्था विद्यमान छ । यसतर्फ उपभोक्ता स्वयं र सरोकारवाला राज्यका संयन्त्रले बढी सक्रियता देखाउन जरुरी छ ।

अखाद्य र म्याद गुज्रिएका वस्तुको बिक्री वितरणले हैजालगायत विभिन्न जोखिमपूर्ण महामारी र अन्य रोग बढिरहेको अवस्था छ भने कालोबजारीका कारण सामानको कृत्रिम अभाव देखाएर लुट्ने प्रवृत्ति पनि डरलाग्दो छ । यी सबै समस्या प्रमुख जिल्ला अधिकारीले केही कर्मचारी लिएर सदरमुकाम वा शहरी क्षेत्रमा बजार अनुगमनका नाममा हिँडेर फोटो खिचेनर सामाजिक सञ्जालमा हालेर समाधान हुँदैनन् ।

यसका लागि प्रभावकारी अनुगमन संयन्त्र बनाई निश्चित समयसमयमा अनुगमन गरी कडाभन्दा कडा कारबाहीको प्रावधान बनाई कारबाही गर्नुपर्छ, जसका कारण भोलिका दिनमा सबै उद्योगी, व्यापारी जिम्मेवार हुन सकून् ।

प्रतिक्रिया दिनुहोस्