विश्व पर्यटन दिवस : पर्यटनका नाममा कर्मकाण्डी काम



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । ११ असोजलाई हामी विश्व पर्यटन दिवसको रूपमा मनाउने गर्छौं । कोरोना त्रासले विगतदेखि नै पर्यटन दिवस खल्लो भएको छ ।

देशमा ठूला हवाई दुर्घटना भएका छन् र कोरोनाले उत्रन थालेपछि हवाई भाडा अचाक्ली बढ्नाले आन्तरिक र बाह्य दुवै पर्यटन क्षेत्रमा हलुवामा बालुवा भएको छ । नेपाल भ्रमण वर्ष, २०२० मनाइरहँदा चीनबाट धेरै पर्यटकहरू यहाँ आउने अपेक्षा थियो । त्यहीँबाटै कोरोनाको मुस्लो उठ्दा र संसार घुमेको त्यो मुस्लोको लप्काले अर्को छिमेकी देश भारतलाई दोस्रो श्रेणीमा राख्दा हामीलाई थप असहज भएको हो ।

नेपालमा पर्यटकीय क्षेत्र धेरै छन्, अनगिन्ती मौलिक र प्राचीन सम्पदाहरू छन्, विश्वमै दुर्लभ पाटेबाघहरू यहीँ देख्न सकिन्छ, काठमाडौं उपत्यका संसारमै चर्चित विश्व सम्पदा यहीँ छ । भौतिक दुनियाँमा वाक्क भएकाहरू आध्यात्मिक शान्तिको खोजी गर्न यहाँ आउँछन् ।

बुद्ध जन्मस्थल लुम्बिनी र विश्वकै हिन्दुहरूको राजधानी नेपाल हो । पञ्चमुखी शिवलिङ्ग पशुपति अन्यत्र छैन, यहीँ छ । तर, फोहोरको राजनीति पनि यहाँ नै धेरै छ । काठमाडौंमा नयाँ युवा नेतृत्व आएपछि धमिलो काठमाडौंलाई सङ्लो पार्ने प्रयास भएको छ । कुरूप संरचनाहरू भत्कँदै छन्, बाटो सफा हुँदै छ ।

भूकम्पले क्षति भएका धरहरा, रानीपोखरीहरू सजिँदै छन् । सरकारले आगामी केही वर्षभित्रै ९ लाख मानिसलाई रोजगारी दिने सपना देखेको छ तर सरकार आफैँ रनभुल्लमा छ, गठबन्धन नामक एँजेरु पलाएको छ । चुनाव आयो फेरि, न्यायालयको लफडा इतिहासमै, राष्ट्रपतिको नागरिकता अध्यादेश, घट्न नसकेको चरम महँगी, तीव्र व्यापारघाटा, जनताको चालू राजनीतिक प्रणालीप्रति घोर वितृष्णा सयौँ चुनौतीहरू छन् देशमा ।

आधुनिक युग पर्यटकीय युग हो । विश्वभरि यस क्षेत्रको प्रभाव अधिक छ । संसारभर पर्यटन क्षेत्रबाट हाल १० करोडले रोजगारी प्राप्त गरेका छन् । वल्र्ड टुरिज्म अर्गनाइजेसनका अनुसार संसारमा आतिथ्य सत्कारकै लागि भनौँ पर्यटन क्षेत्रकै लागि २ दशमलव २ ट्रिलियन यूएस डलरको लगानी छ ।

संसारभर घुमफिर गर्ने, बिदा मनाउने, मनोरञ्जन गर्ने बानी प्रायः आर्थिक हैसियत भएका सबैमा बसेको छ । नेपाल पर्यटकीय गन्तव्यको पहिचान भएको देश हो र पनि पर्यटन क्षेत्रमा संलग्न जनशक्तिको गुणस्तरीयतामा कमी छ यहाँ । यस क्षेत्रमा आवश्यक सक्षम जनशक्ति तयार गर्ने क्रममा सरकारी स्तरमा पर्र्यटन मन्त्रालय मातहत पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान छ । २०२९ सालमा स्थापना भएको यस संस्थाले विभिन्न खाले जनशक्तिको तयारी गर्छ ।

४० वटाभन्दा बढी कलेज एवं अन्य शैक्षिक संस्थाहरूले यस्तै खाले जनशक्ति निर्माण गर्दै छन् । यस क्षेत्रको जनशक्ति साविकभन्दा बढे पनि गुणस्तरमा बढोत्तरी छैन । तालिम प्राप्त जनशक्ति ७० प्रतिशत त विदेशिएका छन् । साँच्चै भन्दा टुरिस्ट गाइडकै कमी छ यहाँ ।

प्रतिष्ठान आफैँले तयार गरेका टुरिस्ट गाइड ५ हजारजति मात्र छन् । प्रतिष्ठानले पर्यटकीय क्षेत्र पोखरा, लुम्बिनी, पाल्पा, चितवन आदि क्षेत्रमा यस्ता जनशक्ति तयार गरेको छ । हामीकहाँ पर्यटन क्षेत्रमा तालिम प्राप्त जनशक्ति समग्रमा ५५ हजारभन्दा बढी रहेका र आगामी केही वर्षभित्र यस्तो जनशक्ति दोब्बर गराउने सरकारी लक्ष्य छ ।

सातै प्रदेशमा प्रतिष्ठानले टुर एवं ट्रेकिङ गाइड तयार गर्ने लक्ष्य पनि लिएको छ । टुर एवं ट्रेकिङ गाइडहरू औपचारिक/अनौपचारिक रूपमा झण्डै डेढ लाख जनाले यहाँ रोजगारी पाएका छन् ।
आएका पर्यटकलाई कुन विशेष क्षेत्रमा केन्द्रित गराउने, अधिकांशको रुचि के हो ? हाम्रो प्राथमिकता के हो ? बजार कुन हो ? यस विषयमा खासै चासो राखेको देखिँदैन । पर्यटकहरूलाई सन्तोष गराउने, उनीहरूको बसाइ अवधि लम्ब्याउने उनीहरूबाट यहाँ बढीभन्दा बढी खर्च गराउने तरिकाहरू के हुन् ? तिनको पनि पहिचान हुन जरुरी छ ।

पर्यटक भित्र्याउन गरिने पूर्वाधार विकासमा पनि हामी पछाडि छौँ । राम्रो सडक, खानेपानी, सरसफाइ, शौचालयको प्रबन्ध, धुवाँ–धुलोरहित यात्रा, दुर्घटनारहित र भरपर्दो सुरक्षा पनि न्यूनतम आवश्यकताका विषयहरू हुन् ।

प्राचीन समयदेखि नै देश देवभूमि, वैदिक भूमि, पवित्र भूमि हो । यो अन्तर्राष्ट्रिय स्तरमा बुझाउनका लागि एक मात्र विश्वकै नमुना पूर्वीय धर्म-संस्कृतिको धरोहर देश भन्ने पहिचान देशले गुमाउनुहुँदैनथ्यो । भैरहवा विमानस्थल निर्माण मात्रले यो अभियान पूरा हुँदैन । हाम्रो देशमा अधिकांश पर्यटकीय तीर्थ क्षेत्र हिन्दु धर्म, दर्शन, संस्कृतिमा आधारित छ ।

नेपाल आउने तर बसाइ अवधि कम राख्ने विगतको समस्या छ । हाल पर्यटकको औसत बसाइ १ साताभन्दा पनि कम छ । बसाइ अवधि नबढाएसम्म र उनीहरूको औसत खर्च वृद्धि नगरेसम्म यहाँको राजस्वमा बढोत्तरी हुँदैन । नेपाल पर्यटन बोर्डको भनाइ छ- एक पर्यटकले सन् २०१७ मा प्रतिदिन ५४ डलर खर्च गर्ने गरेको छ । सन् २०१८ मा १२ः६ दिन पर्यटक बसाइ अवधि थियो भने सन् २०१९ मा यो घटेर १२ः४ दिनमा रह्यो । यसरी समयावधि र खर्च गर्ने औसत रकम घट्नु भनेको राम्रो सङ्केत होइन ।
अधिकांश पर्यटकहरूको स्रोत मुलुक हाम्रालागि भारत र चीन नै हुन् । ती दुवै देशका केही प्रतिशतले मात्र नेपालको भ्रमण गरे पनि यहाँ पर्याप्त हुन्छ । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् १९९७ मा ४ लाख २१ हजार ८५७ जना, सन् १९९८ मा ९ प्रतिशतले बढेर ४ लाख ६२ हजार ६८४ जना, भ्रमण वर्ष ९८ मनाउने क्रममा ५ लाखको लक्ष्य लिएकामा लक्ष्यभन्दा बढीको उपस्थिति थियो ।

सन् १९९९ मा ६ प्रतिशतले बढेर यो सङ्ख्या ४ लाख ९१ हजार ५०४ पुगेको देखिन्छ । बीचमा देश अशान्तिको भुमरीमा फस्यो, पर्यटक आकर्षित भएनन् । सन् २०१६ देखि केही सुधार भएको हो । सन् २०१९ मा ९ लाख ७५ हजार ५७५ जनाभन्दा बढी पर्यटक नेपाल आएका देखिन्छन् । २०१८ मा ११ लाख ७२ हजार पर्यटक भित्रिएका हुन् ।

देशकोे चौधौँ योजनाको अन्त्यसम्म विदेशी पर्यटक आगमनको सङ्ख्या १२ लाख पुर्‍याउने, विदेशी पर्यटकको बसाइ अवधि सरदर १५ दिन पुर्‍याउने, सरदर दैनिक खर्च ६० अमेरिकी डलर पु¥याउने लक्ष्य थियो । हिमाल, पहाड र तराईका भौगोलिक विविधता, समुद्र सतहदेखि ७० मिटर मात्रको उचाइ पनि यहीँ रहेको र विश्वका दुर्लभ पाटे बाघ, काँडे भ्याकुर, धेरै प्रजातिका चरा, जीवित देवी कुमारी र असङ्ख्य चाडपर्व, जात्राहरूले नेपाल र नेपालीको छुट्टै चिनारीलाई प्रतिष्ठाको रूपमा प्रयोग गर्ने लक्ष्य पनि थियोे ।

पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीय स्थलको चिनारी दिँदै पर्यटन उद्योगलाई फस्टाई देशको समृद्धिको यात्रा तय गर्ने प्रशस्त सम्भावनाहरू छन् यहाँ । पर्यटकीय पूर्वाधारको विकासबाट रोजगारीको सिर्जना, गरिबी न्यूनीकरण, राष्ट्रिय अर्थतन्त्रको विकास, जीवनस्तरमा सुधार हाम्रो आवश्यकता हो ।

राजनीतिक सङ्क्रमणमा पर्यटन विकासमा गम्भीर चोट लाग्न पुग्यो विगतमा । पर्यटन पूर्वाधार विकासतिर खासै चासो भएन । विनाशकारी भूकम्पले अर्को घाटा लगायो । आर्थिक समृद्धिका लागि पर्यटन विकास भन्ने राज्यको सोच छ । यसका लागि पर्यटन क्षेत्रको विकासमार्फत आर्थिक वृद्धि र रोजगारीको अवसर सिर्जना गर्ने सरकारी लक्ष्य छ ।

देशलाई आकर्षक तथा थप सुरक्षित गन्तव्यको रूपमा विकास गर्दै पर्यटको आगमनलाई वृद्धि गर्ने जनताको आयस्तरमा बढोत्तरी गर्ने सरकारी लक्ष्य देखिन्छ । पर्यटकीय गन्तव्यस्थल र उपजमा विविधीकरण र विकास गर्ने नेपालमा प्रमुख पर्यटकीय उपजहरूको बजारीकरण गर्ने, प्रबद्र्धन गर्ने, सरकारी उद्देश्य देखिन्छ । यसका लागि राज्यले लिएको र

णनीति हेर्दा पर्यटन विकास गर्न सार्वजनिक, निजी, सरकारी एवं सामुदायिक क्षेत्रमा साझेदारी र सहकार्य गर्नुपर्ने हुन्छ ।
ग्रामीण पर्यटनमार्फत यस क्षेत्रलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ । देशका सबै मौसममा पर्यटकीय क्रियाकलाप सञ्चालनका लागि आन्तरिक पर्यटनका लागि वैदेशिक लगानी आकर्षित गर्नुपर्छ । यसका लागि पूर्वाधारको विकास, संस्थागत सुधार र पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम तय हुनुपर्छ ।

जात्रैजात्राको देश घोडे जात्रा, इन्द्र जात्रा, कुमारी जात्रा, बिस्केट जात्रा, भोटो जात्रामा विदेशीहरूको उपस्थिति देखिनु अनि भक्तपुर, काठमाडौं पाटन क्षेत्रमा स्मारक, स्तुप, मन्दिर, चैत्यहरूमा देखिने विदेशीहरूको घुइँचोले पनि नेपालको मौलिक कला, संस्कृतितर्फ विदेशीहरू झुम्मिने गरेको तथ्य छ । तर, वातावरणीय समस्या, प्रदूषण जस्ता विषयहरूम राम्रो ध्यान दिन सकिएको छैन ।

स्थानीय साधनको प्रयोग गर्दै होमस्टेको अवधारणाका लागि पर्यटक स्तरीय कोठा, शौचालय, वातानुकूलित अवस्था सिर्जना गर्न सकिएको छैन । विश्वभरि नै लोकप्रिय भएको पर्यावरणीय पर्यटनमा हामीले ध्यान पु¥याउन सकेका छैनौँ । हाम्रो राजधानी काठमाडौं लामो समयदेखि प्रदूषित छ ।

अब जाडोको समय सुरु भयो । फोहोर, खराब वातावरण, प्रदूषणका कारण बूढाबूढी, बाल, रोगीहरूलाई थप चिन्ता लाग्नु स्वाभाविक हो । विगतदेखि हाम्रो देशमा हुँदे आएको जथाभावी वन फँडानी, अव्यवस्थित बसाइँसराइ, अवैज्ञानिक एवं परम्परागत पद्धतिमा आधारित कृषि प्रणाली, अव्यवस्थित र अवैज्ञानिक शहरीकरण, शहर केन्द्रित जनघनत्व, बाढी, पहिरो र आगजनीको समस्यादेखि आधुनिक प्रविधिको अभाव, प्रकोपको सम्भावित क्षेत्रको नक्साङ्कन गर्न नसकिएको, हाम्रो वातावरणीय समस्याले हाम्रा लागि ठूला चुनौतीहरू थपेका छन् ।

प्रतिक्रिया दिनुहोस्