आजदेखि खसी-बोकाको स्वास्थ्य परीक्षण



काठमाडौं । सरकारले आजदेखि खसी-बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्ने भएको छ । पशु सेवा विभागको टोलीले दसैँका लागि काठमाडौं उत्पयका भित्रिएका खसी-बोकाहरूको स्वास्थ्य परीक्षण गर्ने भएको हो ।

दसैँको समयमा काठमाडौं उपत्यकामा धेरै खसी-बोका खपत हुने हुँदा रोगी खसी-बोका भित्रिने सक्ने हुँदा पशु सेवा विभागले हरेक दसैँमा खसी–बोकाको स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

काठमाडौं उत्पयकामा भित्रिने विभिन्न ठाउँमा पशु सेवा विभागबाट भेटेरिनरी डाक्टर र प्राविधिकसहितको टोली खटेर खसी-बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्ने गर्छ । कुन खसी-बोका स्वस्थ र कुन रोगी भनेर छुट्याउनलाई स्वास्थ्य परीक्षण गरी २ वटा रङ लगाउने गरेको छ ।

स्वस्थ खसी-बोका र च्याङ्ग्रामा सिङमा हरियो रङ र अस्वस्थ खसी-बोकामा रातो रङ लगाएर छुट्याइन्छ । दसैँका लागि काठमाडौं उपत्यका भित्र्याउने खसी-बोका स्वास्थ्य परीक्षण गर्न काठमाडौं उपत्यकामा १० वटा टोली खटाइने विभागका महानिर्देशक सम्झना काफ्लेले जानकारी दिइन् । उनले काठमाडौं उत्पयकाका विभिन्न ठाउँमा ५० जनाभन्दा बढी भेटेरिनरी प्राविधिकलाई खटाइने बताइन् ।

स्थानीय तह, प्रदेश र विभागको संयुक्त टोलीले दसैँका लागि काठमडौं उत्पयका ल्याएका खसी, बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरिने महानिर्देशक काफ्लेले जानकारी दिइन् । स्वास्थ्य परीक्षणमा खटिएको टोलीले कलङ्की खसी बजार, चोभार, भृकुटीमण्डस्थित टुकुच्चा बजार, कालीमाटी बजार, खाद्य व्यवस्था तथा व्यापार कम्पनी थापाथलीलगायतका स्थानमा गएर खसी–बोकाको स्वास्थ्य परीक्षण गरिने उनको भनाइ छ ।

यसैगरी उनले विभागबाट खटिएको अनुगमन टोलीले माछा र मासु बजारमा पनि अनुगमन गर्ने बताइन् । उनले उपत्यका उपभोक्तालाई दसैँमा स्वस्थ खसी, बोका र माछामासु खान दिन विभागको स्वास्थ्य परीक्षण टोली मात्र खटेर नहुेन स्थानीय तहले पनि अनुगमन गर्नुपर्ने बताइन् ।

दसैँका लागि मात्र करिब ६० हजारदेखि ६२ हजारसम्म खसी-बोका खपत हुने हुँदा उपभोक्तालाई कतै अस्वस्थकर माछामासु पर्ने सम्भावना हुने बताइन् । दसैँको समयमा उपभोक्तालाई स्वस्थ मासु खाउन सबै सरोकारवाला निकायले समेत बजार अनुगमनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले पछिल्लो समय स्वदेशमै व्यवसायी रूपमा खसी-बोका उत्पादन हुने हुँदा दसैँका लागि भारतबाट आयात गर्नु नपर्ने अवस्था रहेको जानकारी दिइन् । बाख्रा उत्पादक महासङ्घ र २०० वटा सहकारी समूहले देशमा मागअनुसार जति पनि खसी-बोका आपूर्ति गर्न सक्ने प्रतिबद्धता गरेका हुँदा खसी-बोका अभाव नहुने उनले बताइन् ।

काठमाडौं चौपाया खरिद बिक्री व्यवसायी सङ्घका अध्यक्ष जनकराज खड्काले दसैँका लागि लक्षित खसी-बोका सोमबारदेखि काठमाडौँ उत्पयका भित्रिन सुरु भएका बताए । उनले विभिन्न जिल्लाबाट कलङ्की बजारमा २५ हजार खसी-बोका र १ हजार च्याङ्ग्रा आउने जानकारी दिए ।

उनले सामान्य अवस्थामा दैनिक ६०० देखि ७०० वटा खसी-बोका कलङ्की बजारमा भित्रिने भए पनि दसैँको घटस्थापनादेखि नवमीसम्मको १ सातामा २५ हजारदेखि ३० हजार खसी-बोका आउने बताए । उनका अनुसार खसी-बोका प्रतिकिलो ६५० देखि ७०० रुपैयाँसम्म पर्नेछ । यसैगरी च्याङ्ग्रा प्रतिकिलो १ हजार ३०० रुपैयाँसम्म पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्