भीम रावल पार्टीको सम्पर्कमा छैन : ओली



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता भीम रावल पार्टीको सम्पर्कमा नभएको बताएका छन् । बालकोटमा सोमबार अछाम जिल्लासहित एमाले सुदूरपश्चिमका नेताहरूसँग ओलीले रावल पार्टीको सम्पर्कमा नभएको बताएका हुन्। उनले रावलको गतिविधिबारे समेत नेताहरुसँग चासो राखेका थिए ।

ओलीले निर्वाचनमा भएको एकल सिफारिसबारे चासो देखाएका थिए। ‘उहाँ (रावल) पार्टीको संवाद र सम्पर्कमा हुनु हुन्न। जिल्लाबाट आ-आफ्नो ढंगले नाम सिफारिस भएको हो। तलबाट नाम आए पनि के गर्ने भन्ने छलफल भइरहेको छ। एकल सिफारिस भए पनि अन्तिम निर्णय पार्टीले गर्ने भयो ।’ ओलीले छलफलमा भनेका थिए ।

मंसिर ४ मा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र नम्बर १ बाट रावललाई मात्र सिफारिस गरेको थियो। उनी २०७४ मा त्यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी सोही क्षेत्रबाट २०५१ र २०७० सालमा समेत निर्वाचित भएका थिए। २०५६ सालमा भने रावल पराजित भएका थिए। २०६४ सालमा उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए।

पार्टीभित्रको अन्तर संघर्षमा अन्तिम समयमा माधव नेपालको साथ छाडेका रावलले दसौं महाधिवेशनमा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका थिए। एमाले अध्यक्ष ओलीले पार्टी सल्लाहकारमा नियुक्त गरे पनि रावलले सो पद अस्वीकार गरेका छन्। आफ्नो दबाबलाई अस्वीकार गर्दै आफूविरूद्ध निर्वाचन लडेकोमा ओली रावलसँग आक्रोशित बनेका छन्।

ओलीलाई भेट्न एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम अध्यक्ष चन्द्र बोहोरा लगायत बालकोट पुगेका थिए। निर्वाचनमा कसरी जाने र कसलाई उम्मेदवार बनाउने भनेर पार्टीले निर्णय गर्ने समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्