आजदेखि सप्तकोसीमा जेट बोट सञ्चालन



  • रमेश पौडेल

काठमाडौं । दसैँअघि सप्तकोसीमा जेट बोट सञ्चालनमा आउने भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका– १ बराहक्षेत्र मन्दिरबाट चलिरहेको बोट आजदेखि सञ्चालनमा आउने नेपाल वाटर स्पोर्ट एण्ड पावर बोट एसोसिएनका अध्यक्ष रमन भट्टराईले जनाकारी दिए । अध्यक्ष भट्टराईका अनुसार कर्णली, नारायणी, बाग्मती, इन्द्रावती र सप्तकोसीमा जेट बोट चल्ने गरेको छ।

सप्तकोसीमा लामो समयदेखि जेट बोट सञ्चालन गरिरहेको कम्पनी बराहक्षेत्र म्यारिन एण्ड रिसोर्ट प्रा.लि.का सञ्चालक दिनेश पौडेलका अनुसार मङ्गलबार सफल परीक्षण भएको छ। बुधबारदेखि यात्रुलाई नियमित यात्रा गराउने पौडेलले जानकारी दिए। ‘मङ्गबार हामीले सामान बोकेर लग्यौँ र अन्य थुप्रै परीक्षण पनि गर्‍यौँ’, पौडेलले भने, ‘अब बुधबारदेखि यात्रुलाई नियमित यात्रा गराउनेछौँ ।’

पौडेलका अनुसार बराहक्षेत्रबाट उत्तरी क्षेत्रमा जाँदा एक पटकमा ४०० जना व्यक्ति लैजान सक्ने र फर्केर आउँदा एक पटकमा ६०० जना यात्रु ल्याउन सक्ने क्षमताको बोट छ। विगतका वर्षहरूमा सुनसरी र उदयपुर जोड्ने पुलबाट बोट लाग्ने गरेको थियो । यस वर्ष भने त्यसको केही किलोमिटर मास्तिर बराहक्षेत्र मन्दिरबाट बोट सञ्चालनमा आएको हो।

विगतका वर्षमा दैनिक ४०० जना यात्रु क्षमताको बोट मात्र सञ्चालनमा आएका कारण पनि यात्रुलाई समस्या भएको थियो । विगतका वर्षमा चाडबाडका बेला यात्रुको चाप बढी हुने र दैनिक १०० देखि २०० जनालाई यात्रा गराउन नसक्ने भएकाले मन्दिरबाट सञ्चालन गरिएको सञ्चालक पौडेलको भनाइ छ ।

जेट बोटको भाडा दर जनही ६०० रुपैयाँ रहेको पौडेलले बताए । पानीको बहाव बढेका कारण बढी इन्धन खपत हुने भएकाले पनि अलिक बढी शुल्क लिनुपरेको पौडेलको भनाइ छ । पानीको बहावमा कमी आएसँगै बोटको शुल्कमा समायोजन हुने पौडेल बताउँछन् ।

अहिले बोटबाट सुनसरीको बरहाक्षेत्र भएर भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायत ठाउँमा पुग्न सकिन्छ । सप्तकोसीमा हिउँदको समयमा बराहक्षेत्र म्यारिन एण्डड रिसोर्ट, सप्तकोसी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रा.लि., बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि. गरी ४ वटा कम्पनीले ४ वटा लामो दुरीका र ४ वटा छोटो दुरीका जेट बोट सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्