युक्रेन सङ्कट सम्बोधन गर्न नेपालको जोड



काठमाडौं । युक्रेनमा जारी अस्थिर वातावरण शान्तिपूर्ण सम्वादमार्फत अन्त्य हुनुपर्नेमा नेपाल सरकारले जोड दिएको छ । युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, यमन र मध्यपूर्वको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपालले शान्ति, सुरक्षा र स्थायित्व सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासभाको ७७औँ सत्रलाई सम्बोधन गर्दै परराष्ट्र सचिव भरतराज पौडेलले शत्रुतापूर्ण व्यवहार र हिंसा तत्काल अन्त्य गर्न आह्वान गरे । अन्तर्राष्ट्रिय प्रणालीमा अन्तर्राष्ट्रिय समुदायबीच बलियो ऐक्यबद्धता र सहकार्य हुनुपर्नेमा जोड दिएका उनले भने, ‘सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन र सम्वादको बाटोमा फर्कन आग्रह गर्दछौँ ।’

शान्ति, सुरक्षा र निशस्त्रीकरणमा नेपालको सैद्धान्तिक अडान रहेको पौडेलले बताए । रुसले युक्रेनमा हमला सुरु गरेपछि संयुक्त राष्ट्रसङ्घीय महासभामा भएको मतदानमा नेपालले आक्रमणको विपक्षमा मतदान गरेको थियो ।

आफ्नो सम्बोधनमा पौडेलले अफगाास्तिानमा तालिबानले सत्ता हातमा लिएपछि सङ्कटको अवस्थाबारे पनि चर्चा गरे। अफगास्तिानमा मानवीय सहायता पाउनुपर्ने बताउँदै उनले भने, ‘अफगानी समाजको स्वास्थ्य, शिक्षालगायत सार्वजनिक सेवा पाउने कुराको सुनिश्चितता गर्न आग्रह गर्छौं ।’

पौडेलले नेपाललाई कम विकसिम मुलुकबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न विकास सहायता, वैदेशिक लगानी, ऋण राहत, व्यापारमा सहयोग र प्रविधि हस्तान्तरणको स्तर बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे । विकासोन्मुख देशहरूले सामना गरिररहेको जलवायु सङ्कटलाई सम्बोधन गर्न जलवायु वित्त सुनिश्चित गर्न उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्