चाडपर्वमा स्वास्थ्यमा ख्याल गरौँ



काठमाडौं । संसारभर अनेक चाडपर्व छन् र तिनको आ–आफ्नै महत्व र विशेषता छ। मानव सभ्यतासँगै अनेक सम्प्रदाय र संस्कृतिको विकास र अभ्यास हुँदै आएको छ। हामीकहाँ पनि यस्ता संस्कृति र परम्परा छन्– हरेक समुदायका।

ती समुदायमा प्रचलित चाडपर्वमा विशेषतः खानपानको महत्व हुन्छ । रामरमाइलो र मिठो मसिनो खानपान नै चाडपर्वका आकर्षण हुने गरेका छन्। र, यस्ता खानपानमा माछामासुदेखि मदिरा, नशासम्म पर्छन्। खानपान स्वास्थ्यसँग सरोकार राख्ने कुरा हो । मानव स्वास्थ्य एक अर्थमा जब्बर छ भने अर्कातिर अत्यन्त कमसल पनि।

पछिल्लो समय वातावरणीय तथा मानवको जीवनशैलीका कारण मानव स्वास्थ्य अत्यन्त सम्वेदनशील र कमसल बन्दै गएको अवस्था छ । प्रदूषण र मिसावटयुक्त खानपानका कारण मानव स्वास्थ्यमा जोखिम अत्यन्त बढेका छ । यसै बीच कोभिड– १९, डेंगी जस्ता महामारीजन्य स्वास्थ्य प्रकोप बढेका छन् ।

यहीबेला नेपाली हिन्दुहरूका महान् चाड दसैँ र तिहार सँघारमै आइपुगेका छन्। यी चाडमा पारिवारिक र आफन्तजनको पुनर्मिलन हुने र रमाइलो गर्ने त छँदै छ, साथमा मिठा परिकार खाने, खुवाउने परापूर्वदेखिको हाम्रो परम्परा हो । पशु बलिसहित मासु भोजन, मिठाई र अन्य स्वास्थ्यका लागि प्रतिकूल खानेकुराहरू यस चाडमा अत्यधिक प्रयोग हुने गरेको छ।

स्वास्थ्यविज्ञहरू बारम्बार सल्लाह दिइरहेका हुन्छन्– चाडबाडका नाममा स्वास्थ्यलाई गम्भीर असर गर्ने कुराहरू नखाऔँ, अन्य खानेकुराहरू पनि स्वास्थ्यवद्र्धक, साधारण र गम्भीर असर नपर्ने गरी खाऔँ । तर, हामीलाई यतातिर चासो हुँदैन र भन्छौँ– वर्ष दिनमा आउने चाडबाडमा केको स्वास्थ्यको ख्याल गर्ने ?

यही सोचका कारण रमाइलोसँग मनाउनुपर्ने चाडबाड दुखद् बनेर आइदिन्छन् हामीकहाँ । मांस–मदिराको अत्यधिक प्रयोग, चिल्लो, अखाद्य वस्तु मिश्रित, चर्को, बढी तारेको (भुटेको) खानेकुराका कारण बिरामी नभएकाहरू बिरामी पर्ने तथा दीर्घरोगीहरू सिकिस्त हुने वा मृत्युवरण गर्ने अवस्था अइरहेको छ । यसर्थ, चाडबाडमा बढी नै सचेत र संयमित भई आत्मानुशासनमा बसी स्वस्थ र आफ्नो स्वास्थ्यमा बाधा नपर्ने खानेकुरामा जोड गरौँ, दुर्दशाको सिकार नबनौँ ।

प्रतिक्रिया दिनुहोस्