शिक्षामा सुधारको खाँचो



  • मञ्जु भट्ट

काठमाडौं । ३ वर्ष अगाडि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भूगर्भशास्त्र स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीहरूले गरेको भूगर्भसम्बन्धी (जिओलोजिकल) प्रदर्शनी हेर्न स्कुलबाट विद्यार्थीहरू लिएर जाने मौका मिल्यो । विद्यार्थीहरूले भूगर्भसम्बन्धी ज्ञान दिने विभिन्न स्टलहरू प्रदर्शनमा राखेका थिए । त्यहाँ स्मार्ट सिटीको पनि एउटा नमुना थियो ।

प्रदर्शनी हेर्न आएका १ जना शिक्षक भने स्नातकोत्तर तहका ती विद्यार्थीहरूले बनाएको त्यो नमुना देखेर खुबै हाँसे। ‘अन्त्यमा यो नमुना बनाउने तिमीहरू पनि पढाइ सकिएपछि आखिर विदेश नै जाने होला । यो नमुना अर्को वर्ष नयाँ आउने विद्यार्थीहरूले देखाउलान् । स्मार्ट सिटी बनाउन सक्ने तिमीहरू विदेशमा गएर स्मार्ट सिटी बनाऊ । हाम्रो देश भने यसको नमुना मात्र प्रदर्शन गर्दै रहनेछ’ भन्दै घतलाग्दो कुरा गरेर हिँडे।

हामीले लिएर गएका स्कुलका विद्यार्थीहरूको भन्दा माथिल्लो स्तरको प्रदर्शनी भए पनि विद्यार्थीहरूले चाख दिएर प्रश्न सोधिरहेका थिए। प्रोजेक्टरको माध्यमबाट काठमाडौं किन धेरै नै भुइँचालोको जोखिममा रहेको तथा पृथ्वीको उत्पत्तिसम्बन्धी बिग व्याङको सिद्धान्त विद्यार्थीहरूले धेरै मनपराए। बाहिर प्रदर्शनमा राखिएका स्टलहरू भन्दा पनि भित्र प्रोजेक्टरमा विद्यार्थीहरूको भिड देख्दा उनीहरूका सिकाइका रुचि बदलिएको देखाउँथ्यो ।

विद्यालयमा अतिरिक्त क्रियाकलापहरू भए पनि कहिले आठै पिरियड कक्षामा बसेर पढ्नुपर्ने दिनमा विद्यार्थीहरू एकाग्र हुन सक्दैनन् । यस्तोमा विषयगत शिक्षकले शैक्षिक सामग्रीसहित कक्षामा प्रवेश गर्दा विद्यार्थीहरूको पढाइमा बढी ध्यान जान्छ। विभिन्न देशहरूमा झोला बोकेर स्कुल जाने चलन हटिसक्यो । विद्यार्थीहरू स्कुलमा कम्पुटरमा पढ्न थालिसके । घरमा पनि उनीहरूको पढाइ कम्पुटरमै हुन्छ । त्यसैले सम्भव भएसम्म पढाइमा फरकपन ल्याउन र विद्यार्थीको पढाइमा रुचि जगाउन अङ्ग्रेजीका कतिपय कथाहरू युट्युबमा आइसकेकाले दृश्यसहित प्रोजेक्टरको माध्यमबाट पढाउन सकिन्छ।

त्यस्तै, नेपाली विषयमा रुचि नदिने निजी स्कुलका विद्यार्थीहरूलाई नेपालीका देशभक्तिसम्बन्धी सिनेमा तथा नाटकहरू देखाएर विद्यार्थीहरूमा नेपाली विषयमा रुचि जगाउन सकिन्छ। विज्ञान विषयका पनि विभिन्न पाठहरूको पावर प्वाइन्ट तयार गरेर विद्यार्थीहरूलाई रमाइलो गरी प्रोजेक्टरको माध्यमबाट विभिन्न तस्बिर तथा दृश्यहरू (भिडियो) नै देखाएर पढाउँदा सजिलै सिक्ने गरेका देखिन्छ।

साथै, विभिन्न प्रयोगात्मक कक्षाहरू सञ्चालन गरेर तथा जेसम्बन्धी पढाउने हो, त्यो कुरा हाम्रै वरिपरि छन् भने प्रत्यक्ष कक्षामा देखाएर पनि विज्ञान विषयमा विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ । शहरका कतिपय विद्यार्थीहरूले हामीले भात खाने चामल सिधै खेतमा फल्छ भनेको सुन्दा अहिले कतिपय स्कुलहरूले भात चामलबाट र चामल धानबाट निस्कन्छ भनेर देखाउन खेतमा धान रोपेका बेला र काट्ने बेला विद्यार्थीहरूलाई लगेर देखाउने गरेका छन् ।

समयअनुसार सामाजिक सञ्जालको प्रयोगसँगै सिक्ने तथा सिकाउने माध्यम तथा तरिकाहरू बदलिँदै गएका छन् । हामीले दिएको ज्ञानभन्दा कतिपय विद्यार्थीले पहिले नै इन्टरनेटको माध्यमबाट खोजेर धेरै जान्ने भइसकेका पनि छन् । यस कारण शिक्षकले आफूलाई समय सापेक्ष ज्ञान र प्रविधिसँग परिचित (अपडेट) गरिरहनुपर्छ । विद्यालयहरूले पनि शिक्षकहरूलाई समयानुकूल पढाउन सक्ने बनाउन समयसमयमा विभिन्न तालिमको व्यवस्था गर्नुपर्छ ।

कतिपय विद्यार्थीहरूले इन्टरनेटबाट पढ्ने बहाना बनाई अभिभावकलाई झुक्याएर पब्जी गेम, टिकटक जस्तै नचाहिने कुरामा घन्टौँ बिताउने गुनासाहरू अभिभावकबाट सुनिन थालेका छन् । यद्यपि, पब्जी गेमका धेरै साथी बनाउन सक्ने, योजनाअनुसार काम गर्नेजस्ता केही फाइदाहरू पनि छन् । तर, त्यो भन्दा पनि समूहमा खेलिने खेल भएकाले धेरै विद्यार्थीहरूले एकैचोटि आफ्नो अमूल्य समयको बर्बादी गरिरहेका हुन्छन् । अहिले किशोर–किशोरीहरूमा यो गेमको नशा यतिसम्म लागेको छ कि सधैँ बिहान ट्युसन जाने विद्यार्थी ‘सञ्चो छैन’ भनेर पढ्न जान मान्दैन । जब घरका सदस्य काममा निस्कन्छन् अनि साथीहरूसँग पब्जी गेममा मस्त भएका खबर अभिभावकबाट आइरहन्छन् ।

एकचोटि खेल्न थालेपछि घन्टौँ खेल्न मन लाग्ने गेमको रूपमा पब्जीलाई लिइन्छ, जसका कारण धेरै किशोर–किशोरीहरूमा मनोवैज्ञानिक असर परेका घटनाहरू सुनिन थालेका छन् । हालै भारतको रुडकीमा कक्षा १२ मा पढ्ने विद्यार्थीले परीक्षा चलिरहेका बेला उनका परिवारले पब्जी गेम खेल्न नदिई मोबाइल लिएर ‘परीक्षा सकिएपछि दिन्छु’ भन्दा रिसाएर गङ्गा नहरमा हामफालेर आत्महत्या गरेका छन् ।

यस्ता धेरै घटनाहरू बाहिर आउन सकेका छैनन् । यस कारण प्रत्येक अभिभावकले आफ्नो बच्चा केका लागि इन्टरनेट चलाउँदै छ भनेर चनाखो हुनु जरुरी भइसकेको छ । यद्यपि, सरकारले पब्जी गेम बन्द गरिसकेको छ । यसले धेरै विद्यार्थीहरूलाई अमूल्य समयको बर्बादी हुनबाट जोगाएको छ । सामाजिक सञ्जालबाट सिक्न मिल्ने कतिपय सुविधाहरू शहरका निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूले सजिलै उपभोग गरिरहेका छन् । एसईई परीक्षाका लागि भनेर बिहान ६ बजे घरबाट पढ्न स्कुल हिँडेको विद्यार्थी बेलुकी ७ बजेसम्म कक्षामा हुन्छ ।

कतिपय स्कुलहरूले एसईई पढ्ने विद्यार्थीहरूलाई शनिबार पनि आधा दिन पढाइरहेका छन् । अर्कातिर दुर्गमका सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरू नयाँ वर्ष सुरु भएको ६ महिनासम्म त किताब नै पाउँदैनन् । एउटा कापीको भरमा स्कुल जाने विद्यार्थीले र भनेको समयमा कापी, किताब, पुस्तकालय, कम्प्युटर ल्याब, आधुनिक विज्ञान प्रयोगशाला, इन्टनेट, पत्रपत्रिका, गेम, म्युजिक, नाचगान, स्काउट, ट्युसन आदि सुविधा लिएर पढ्ने निजी स्कुलका विद्यार्थीमा समानता खोज्नु विडम्बना हो । उनीहरूको मुल्याङ्कन एउटै प्रश्नपत्रले हुन सक्दैन ।

अछाम घर गएका बेला कक्षा ६ मा पढ्ने मेरो छिमेकी विद्यार्थीलाई अङ्गे्रजीमा उनको नाम र स्कुलको नाम सोध्दा सजिलै जबाफ दिए । जब मैले अङ्ग्रेजीमै उनी कति वर्षका भए र उनका बुबाको नाम के हो ? भनेर सोध्दा उनले भन्न सकेनन् । यसले हाम्रा सरकारी विद्यालयहरूको पढाइको वर्तमान अवस्था झल्काउँछ । तर, सबै सरकारी स्कुलको अवस्था एउटै छैन । कतिपय सरकारी विद्यालयहरू निजीभन्दा अब्बल छन् । धेरैजसो दुर्गमका सरकारी स्कुलको अवस्था भने दयनीय छ ।

स्विडेन, डेनमार्क, अस्ट्रेलिया, जर्मनी, नर्वे, स्पेन जस्ता धेरै देशहरूमा निजी विद्यालयहरू नै छैनन् । तर, विश्वमा शिक्षाको अवस्था राम्रो भएकामा डेनमार्क, फिनल्याण्ड नै अगाडि छन् । त्यस कारण जबसम्म सरकारी कोषबाट तलब बुझ्ने कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सरकारी स्कुलमा पढाउँदैनन्, तबसम्म हाम्रा स्कुलहरूको अवस्थामा कदापि सुधार आउनेछैन । राम्रोसँग तथ्याङ्क सङ्कलन गर्ने हो भने सरकारी स्कुलमा पढाउने धेरैजसो शिक्षकका छोराछोरी निजी विद्यालयमा पढ्छन् । कारण के होला ? उहाँहरूलाई राम्रोसँग थाहा छ।

सरकारी स्कुलमा हुने पढाइको गुणस्तर सुधारमा सरकारको पहिलो कदम सरकारी जागिरे कर्मचारी, नेता, मन्त्रीलगायत राज्यकोषबाट तलब भत्ता थाप्ने सबैका छोराछोरीहरूले सरकारी स्कुलमा पढ्नुपर्ने हालसालै बनाएको नियमलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउनुपर्छ । त्यसपछि मात्र सरकारी स्कुलहरूको स्तरोन्नति भई विद्यार्थीहरूले बेन्चमा सजिलोसँग बसेर पढ्न पाउनेछन् । ३ घन्टाका जाँचहरू चिसो भुँइमा बसेर दिनुपर्नेछैन । उनीहरूले पनि निजी स्कुलका विद्यार्थी सरह धेरै सुविधा पाउनेछन् र विद्यार्थीले पाउने शिक्षाको गुणस्तरमा सुधारमा आउनेछ ।

स्कुलमा पढाउने शिक्षक छनोट गर्ने तरिका, परीक्षा प्रणाली र सम्बन्धित विषयको मापदण्ड निर्धारणमा नै व्यापक सुधार आवश्यक देखिन्छ । शिक्षाशास्त्र पढेकाले मात्र शिक्षकको रूपमा सरकारी स्कुलमा पढाउन पाउने प्रावधानले अब्बल जनशक्ति शिक्षक हुने इच्छा भएर पनि बाहिर परेको विगतको तीतो अनुभव हामीसँग छ। प्रवेशिकामा राम्रो नतिजा ल्याउने धेरैजसो विद्यार्थीहरू विज्ञान विषय पढ्न पुग्छन् । मध्यम स्तरका विद्यार्थी व्यवस्थापन तथा धेरैजसो तेस्रो श्रेणी प्राप्त गर्नेहरू शिक्षाशास्त्र पढेर शिक्षकको दरबन्दीमा काम गर्न थाल्छन् ।

यस्तो जनशक्तिसँग सिकाइका विधिको ज्ञान होला तर विषयगत ज्ञान पक्कै पनि कम भएको पाइन्छ । त्यसैले त कुनै तालिम नलिएर पनि मिहिनेत साथ पढाउने निजी स्कुलका शिक्षकहरूबाट राम्रो नतिजा प्राप्त भइरहेको छ । तर, राज्यले ठूलै लगानी गरेर तयार गरेका शिक्षकबाट सरकारी स्कुलको नतिजा दिनदिनै खस्किँदो छ। तत्काल अब्बल जनशक्तिलाई छोटो अवधिको तालिम प्रदान गरी सरकारी स्कुलको शिक्षकमा प्रवेश नगराई भनसुनको आधारमा कार्यकर्ता भर्ती बन्द नगर्ने हो भने राज्यको ठूलो लगानी फेरि पनि बालुवामा पानी सरह नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्