४८३ अशक्त लाभग्राहीलाई शिविरमार्फत् सामाजिक सुरक्षाभत्ता



खोटाङ । खोटाङको साकेला गाउँपालिकाले ४८३ अशक्त लाभग्राहीलाई शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ। नेपाल एसबिआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफैँ हिँडेर बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो।

दशैंतिहारलाई लक्षित गर्दै गत ४ असोजदेखि साकेला गाउँपालिका-५ मात्तिमबिर्ताबाट सुरु गरिएको भुक्तानी शिविर ११ असोजसम्म साकेला गाउँपालिका-३ खिदिमा पुगेर टुंगिएको छ।

पालिकाका सबै वडा-वडा पुगेर सञ्चालन गरिएको भुक्तानी शिविरबाट सामाजिक सुरक्षाभत्ताबापत अशक्त लाभग्राहीलाई ६६ लाख ७२ हजार ३०० रुपैयाँ वितरण गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले बताए।

साकेला गाउँपालिका-५ मात्तिमबिर्तामा सञ्चालन गरिएको शिविरबाट ९० जना लाभग्राहीलाई १२ लाख ४९ हजार, असोज ५ गते साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडामा सञ्चालन भएको शिविरमा ८२ जना लाभग्राहीलाई १२ लाख ९२ हजार, असोज ६ गते साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडास्थित डाँडागाउँमा सञ्चालन गरिएको शिविरबाट ७८ लाभग्राहीलाई १० लाख २५ हजार भत्ता वितरण गरिएको छ।

यस्तै, असोज ७ गते साकेला गाउँपालिका-२ रतन्छामा सञ्चालन गरिएको शिविरबाट ११० जना लाभग्राहीलाई १४ लाख ९२ हजार, असोज ९ गते साकेला गाउँपालिका-४ मात्तिममा सञ्चालन गरिएको शिविरबाट ५९ जना लाभग्राहीलाई ८ लाख ९८ हजार र असोज ११ गते खिदिमामा सञ्चालन गरिएको शिविरमार्फत ६४ जना लाभग्राहीलाई ८ लाख ४५ हजार रकम भुक्तानी गरिएको नेपाल एसबिआई बैंक साकेला शाखाका शाखा प्रबन्धक असिम इङ्नाम लिम्बूले बताए। बैंकसम्म पुग्न सक्ने अन्य लाभग्राहीले भने बैंकबाटै सामाजिक सुरक्षाभत्ता बुझिरहेका छन्।

विभिन्न प्रकारका १ हजार ३१५ लाभग्राही रहेको गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकका लागि १ करोड २३ लाख ६ हजार ३३० रुपैयाँ भत्ता निकासा भएको थियो। सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७-०७८ को दोश्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दैआएको छ।

तर, वृद्धाअवस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्षित गरि गाउँपालिकाले वडा-वडामा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ। गाउँपालिका र बैंकबीच वर्षको ३ पटक गाउँगाउँमा शिविर सञ्चालन गरेर भत्ता वितरण गर्ने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए।

प्रतिक्रिया दिनुहोस्