अभियुक्तले महिलालाई पेचकसले घोचेर मारेको दिए बयान



काठमाडौ । महोत्तरीमा अमना खातुनको हत्या गर्ने अभियुक्तलाइ मंगलवार प्रहरीले सार्वजनिक गरेको छ ।

हत्या गरेको विभिन्न प्रमाणका आधारमा ३ दिनमा नै सोही ठाउँ वस्ने २४ बर्षिय मोजाहिर अन्सारीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

महोत्तरी मट्टीहानी नगरपालिका वडा न.१ वस्ने अमना खातुन घाँस काटन गएको वेला ७ असोजको राती मृत अवस्थामा फेला परेकी थिइन ।

प्रहरीले घटनास्थलमा भेटेका विभिन्न प्रमाणका आधारमा पक्राउ गरि अनुसन्धान गर्दा अभियुक्त मोजाहिरले हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ ।

धिरापुर गाउँ देखि अ.१.५ कि.मि. पूर्व पर्ने बिगही खोलाको किनारमा पर्ने झिझाँ बगैँचाको बाँसघारीमा अमना खातुन शरीर का विभिन्न भागमा चोट र धारिलो हतियारले घोचेजस्तो अवस्थामा मृत फेला परेकी थिइन ।

प्रहरीले अमना खातुनको लाशजाँच मुचुल्का गर्दा मृत्यु भएको देखी करीव १०० मिटर सम्म मृतकलाई घिसारेको डाम रहेको, मृतकको कुर्थाको गोजी च्यातिएको,सुरुवालको तुना चुट्टिएको, चुराहरू फुटुको, माला पोते चुट्टिएको र कानको झुम्का निस्किएको अबस्थामा रहेको निष्कर्ष निकालेको थियो ।

यी सवै प्रमाणहरुका आधारमा खोजतलास गर्दा अभियुक्त मोजाहिरले लगाएको सेतो रङको स्याण्डो समेत फेला परेको प्रहरीले जनाएको छ ।

छिमेकीहरुले समेत अन्सारी घटना हुने समयमा घटनास्थल वरपर रहेको भन्ने सुचनाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हत्या गरेको सहर्ष स्विकार गरेको प्रहरी उपरीक्षक कृष्ण पङेनीले जानकारी दिए ।

अभियुक्त मोजाहिरले दिएको वयानमा मृतक अमना खातुनलाई फलामको पेचकसले घाटी, छाती र पेटमा प्रहार गरी सलले घाटी कसी हत्या भएको छ ।

घटनास्थलवाट अभियुक्त मोजाहिर अन्सारीको पहिचान खुल्ने रातो रंगको सर्ट र निलो रंगको जिन्स प्यान्ट र हत्यामा प्रयोग गरेको पेचकस थान १ समेत प्रहरीले बरामद गरेको छ ।

अभियुक्त अन्सारीले अमना खातुनलाई हत्या गरे पश्चात खुट्टामा लगाएको चाँदीको पाउजु निकाली जलेश्वरस्थित सुनचाँदी पसलमा ४ हजारमा बिक्री गरेको खुलेको छ ।

यता मृतक खातुनले लगाउने नाकको फुली समेत जलेश्वरकै सुनचाँदी पसलमा २ हजारमा बिक्री गरेको र उक्त सुनको फुली सुन पसलेले गलाईसकेको पाइएको छ ।

घटनामा अन्य व्यक्तिहरुको संलग्नता रहे/नरहेको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्