दक्षिण अफ्रिकाविरूद्धको पहिलो टी-२० मा भारत विजयी



काठमाडौं । भारतले पहिलो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ। बुधबार राति भएको खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई हराउँदै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको हो।

दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। भारतका केएल राहुलले अविजित ५१ रन र सूर्यकुमार यादवले पनि अविजित ५० रनको अर्धशतकीय पारी खेले। कप्तान रोहित शर्मा शून्य र विराट कोहली ३ रनमा आउट भए।

दक्षिण अफ्रिकाका कागिसो राबडा र एन्रिच नोर्कियाले १/१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४१ रन बनाए। एडिन मार्क्रमले २५ तथा वायने प्रनिलले २४ रन बनाए।

भारतका अर्शदीप सिंहले ३ तथा दीपक चाहर र हर्सल पटेलले २/२ विकेट लिए। भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो खेल आइतबार र तेस्रो खेल मंगलबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्