आस्था होइन अवस्था बदलौं



काठमाडौं । आम चुनावको एउटा मनोविज्ञान भने पनि रोग भने पनि पार्टी (आस्था) परिवर्तनको अभ्यास र प्रचार हो। ४ मंसिरको निर्वाचनमा पहिलो पार्टी बन्न, राष्ट्रिय पार्टी बन्न र दलको प्रचार गर्न गरी ३ खाले शक्ति यतिवेला आस्था बदल्ने र बदल्न लगाउने होडमा छन्। यो होडमा यतिवेला एमाले १ नम्बरमा देखिन्छ।

एमालेलाई पछ्याउँदै आइरहेको छ राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रसहित उनको एउटा टीम राप्रपामा समाहित हुनुका पछि चुनावी रन्को पहिलो र आस्था परिवर्तन दोस्रो कारण हो। र दुःखका साथ भन्नुपर्छ रविन्द्रदेखि राजपाका सांसदसम्मको पार्टी हेराफेरि आस्था र अवस्था बल्ने नभइ स्वार्थ पुरा गर्नमा मात्र परिलक्षित छ।

रविन्द्रको पहिलो परिचय पत्रकार हो । दोस्रो उनी बैकल्पिक शक्ति निर्माणका अभियन्ता हुन्। अनिमात्र उनी अब राप्रपाका नेता हुन्। दल निर्माण विशेष सिद्धान्त, अवस्था र आस्थाका आधारमा हुन्छ। तर राप्रपा यी तीनवटै बाटोभन्दा पृथक बाटोबाट जन्मिएको पार्टी हो। जुन पार्टीभित्र पञ्चायत, प्रजातन्त्र हुँदै संघीय लोकतन्त्रात्मक व्यवस्थाका सवै गुणहरु मिसिएको छ।

सत्तामा सदाबहार पहुँच राख्ने व्यक्तिले व्यवस्था बदिएसंगै सो व्यवस्थाको विरपरित बसेर पृथक मत राख्दै राजनीति गर्नेले जन्माएको पार्टी हो राप्रपा। जसले मुलत हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्छ। यी दुबै परम्परागत विषय हुन्। जहाँ बैकल्पिक तथा नयाँ राजनीतिक शक्ति र सोच सहितको पार्टीको कल्पना गर्ने रविन्द्र मिश्रहरु मिसिएका छन्।

यस हिसावले रविन्द्रले लिएको पछिल्लो वाटो पूर्ण रुपमा गलत छ, कम्तीमा जनताको अवस्था बदल्ने एजेण्डाका हिसावले। र उनको यो निर्णय स्वार्थकेन्द्रीत र राजनीतिमा टिकिरहने बाटोतर्फ लक्षित छ। जनताको दुरावस्था र सामाजिक संस्कृतिक रुपान्तरणको बाटो समाएको उद्घोष गरी हिड्ने मिश्रजस्ता नेता÷अभियन्ताले आफ्नो उद्धेश्य राप्रपामा बसेर पुरा गर्ने सक्दैनन् यो घाम जत्तिकै छर्लङ्ग छ ।

रबिन्द्र मिश्र हुन् या पछिल्ला दिन जसपा र राजपा त्यागेर एमाले छिरेका सांसद हुन्, सवैको रणनीति राजनीतिबाट दीर्घकालीन फाइदा खाइराख्ने मात्र हो। एमाले पार्टी मन पराएका भए संसद जिवित हुदै जसपाका ५ सांसदले पार्टी त्याग्ने हैसियत राख्थे। रविन्द्र मिश्रले पनि बिवेकशील साझा पार्टीको अध्यक्षबाट राजिनामा दिएर राप्रपामा लाग्न चुनावसम्म कुर्नुपर्ने थिएन।

जब चुनावी माहोल तात्छ, त्यसपछि सुदूर राजनीतिक भविष्य र फाइदा हेरेर गरिने आस्थाको हेराफेरिले न देश बन्छ न जनताको अवस्था नै त्यस्ता नेताबाट बदल्न सम्भव छ। चुनावका मुखमा आस्था बदल्ने राजनीतिज्ञबाट खुसी हुनुपर्ने कारण त छैन नै दुःखी पनि हुनु जरुरी छैन। किनकी अर्को चुनावसम्ममा यी नेता अर्कै पार्टीका भइसकेका हुनेछन्। त्यसकारण चुनावका मुखमा आस्था बदल्ने नेताबाट जनताको अवस्था बदल्ने कल्पना गर्नु र उनीहरुका फोस्रा भाषणमा बिश्वास गर्नु समयको वर्वादी र बेकारमात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस्