दसैँ-तिहारः मूल मर्म एकातिर, बुझाइ अर्कातिर



  • पदम श्रेष्ठ

काठमाडौं । आश्विन शुक्ल प्रतिपदा घटस्थापनादेखि पूर्णिमासम्म मनाइने दसैँ र कात्तिक कृष्ण त्रयोदशीदेखि द्वितीयासम्म ५ दिनको तिहार प्राकृतिक आधारमा २ नभई एकै मानिन्छ भने तिथिअनुरूप हावापानीको समायोजन गर्दै मनाइने भएकाले १२ वर्षमा एक पटक आउने दसैँ–तिहार वातावरणीय रूपमा ‘जिकज्याक’ हुने बताइन्छ। तिथिअनुरूप दसैँ मान्ने समय नै नभएकाले फर्पिङको हरिशङ्कर जात्रा या मन्यानी भन्दै मङ्सिरमा परेको छ भने यस वर्ष हुरी, पानी, रोग–व्याधी र महामारीले देश प्रताडित छ। विशेषतः दसैँ वर्षमा ४ पटक मनाइन्छ।

जस्तै : चैत्र शुक्ल प्रतिपदादेखि रामनवनमीसम्म : चैते दसैँ, माघ शुक्ल प्रतिपदादेखि दशमीसम्म : माघे दसैँ, आषाढ शुक्ल प्रतिपदादेखि दशमीसम्म : हिले दसैँ, आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म : बडा दसैँ । तर, चैते दसैँ र बडा दसैँ नै विशेष किन ? यसको जबाफमा बूढापाकाहरू अहिले पनि भन्छन्– हावा–हुरी, झाडा–बान्ता र गर्मीका कारण चैते दसैँलाई आश्विनमा सारिएको हो ।

जुनसुकै जात्रा–पर्वलाई पनि हिन्दुहरूको महान् पर्व भन्ने थेगो झुन्ड्याइँदा एकातिर हिन्दुस्तान (भारत)को राष्ट्रियतालाई अङ्गीकार गर्न बाध्य छौँ भने अर्कातर्फ नेपाली हावापानी सुहाउँदो प्राकृतिक पर्व दसैँ–तिहारको मूल मर्ममा भूल परेको छ । अनि, अर्कातर्फ आदिवासी जनजाति भन्नेहरू अध्ययन नै नगरी प्राकृतिक पर्व दसैँ–तिहारलाई ‘हिन्दुको पर्व हामी बहिष्कार गर्छौं’ भन्दै लागिरहेका छन् ।

यसो विचार गरी हेरौँ त, चैत, वैशाख, जेठमा हावा–हुरीले दुःख दिने गर्छ । असार, साउन र भदौमा बाढी–पहिरो र वर्षात्ले सताउँछ । मङ्सिर, पुस र माघ महिनामा कठ्याङ्ग्रिने नेपाली हावापानीको स्वभाव हो । यस्तो उपद्रवबाट बच्दै ठूलो रोग–व्याधी, दुःखबाट पार पाएको खुसियालीमा आश्विन–कात्तिकको ऋतुराज शरदमा नेपाली पुर्खाले दसैँ र तिहार मनाउने परम्परा बसाएका हुन् । हुन पनि यस महिनामा न धेरै जाडो हुन्छ, न त धेरै गर्मी । वर्षात सकिएर नदी–नाला सुकिसकेका हुन्छन् ।

खेतमा धानका बालाहरू झुलिरहेका हुन्छन् । फलफूल लटरम्म फलिरहेका हुन्छन् । आदिकालमा अहिले जस्तो नदी तर्ने पुल नबनेका बेला देश, विदेश व्यापार गर्न मुग्लान गएकाहरू पनि नदी सुकेका कारण घर आउन सहज भइसकेको हुन्छ । फलस्वरूप घर परिवार एकै ठाउँमा बसी बाटोमा लागेको भुत–प्रेत, दुष्ट आत्माबाट बच्न घटस्थपनाका बेला कालो टीका मोहनी लगाएर दसैँ मनाउँथे र अहिले पनि मनाउँदै छन् ।

घटस्थापनादेखि पूर्णिमासम्म दसैँ

नेवारहरू दसैँलाई मोहनी र तिहारलाई स्वन्ति भन्छन् । दसैँको पहिलो दिन घटस्थापना (नलास्वनेगु) द्योछेंमा नदीको बालुवा ल्याई चोखो जौ, तिल, मकै, गहुँको जमरा राखिन्छ । काठमाडौं हनुमानढोका र तलेजु घरमा जमराराखि भोलिदेखि नवरथा घुम्न जाने परम्परा हुन्छ । नवरथा घुम्न जाने मातृशक्ति देवस्थलहरू निम्न छन् :

काठमाडौंमा अष्टमातृका
यसअन्तर्गत १) भद्रकाली (लुमडी) २) शोभाभगवती ३) इन्द्रायणी (लुतिमरु अजिमा) ४) नक्साल भगवती ५) मैतीदेवी ६) कालिकास्थान ७) टुँडालदेवी (तोणँ अजिमा) ८) दक्षिणकाली पर्छन् । न्युरोड टेबहालको सङ्कटा अष्टमातृकामा नपरे तापनि दसैँका बेला परिक्रमा गर्ने परम्परा छ ।

ललितपुरका १० महाविद्या
यसअन्तर्गत १) भैरवी २) पूर्णचण्डी ३) मातङ्गी ४) तारा ५) बङ्गलामुखी ५) त्रिपुरासुन्दरी ६) भुवनेश्वरी ७) धुमावती र ८) छिन्नमस्ता पर्छन् ।

भक्तपुरमा नवदुर्गा

यसअन्तर्गत १) शैलपुत्री २) ब्रह्मचारिणी ३) चन्द्रघण्टा ४) कुष्माण्डा ५) स्कन्दमाता ६) कात्यायनी ७) कालरात्रि ८) महागौरीलाई पुज्ने र पञ्चबलि (हाँस, कुखुरा, भेडा, बोका र राँगा) दिइन्छ । कुमारीलाई मूल मानी घरको मूलढोकामा पुज्ने गरिन्छ दसैँमा ।

पचिम्ह्रः (आश्विन शुक्ल पञ्चमी)

कलीगत सम्वत् ३८२५ मा राजा गुणकामदेवले काठमाडौं नगर म्हेपीलाई मञ्जुश्री खड्गको शिर र पचलीलाई बिँड बनाई स्थापना गरे । फर्पिङका राजा मानिने पचली भैरव प्रत्येक दिन टेकुस्थित नइअजिमा (खड्गी कन्या)सँग प्रेमालाप गर्दै रात बिताउँथे ।

एक दिन अभिभावकले थाहा पाई कुटपिटपछि पचली–झाडीमा फ्याँकिदिए, जहाँ प्रत्येक वर्ष दसैँको पञ्चमीका दिन तामाको घ्याम्पोमा खड्गधारी त्रिशूल, ढाल, बिन्दु मुद्रासहितको भैरव जात्रा गरिन्छ । टाउकोमा बुद्ध अङ्कित तर घ्याम्पोभित्र जाँड, रक्सी भरी काेंचाद्यो जात्रा गरिन्छ । जात्रा दलाछीं, बकछें (इनाखा), यङ्गाल, न्हुघः, नायपाच्वःका ज्यापूहरूले पालैपालो बर्सेनि चलाउँछन् ।

फूलपाती नवरथाको सातौँ दिन
दसैँको सप्तमीका दिन गोर्खा दरबारबाट मगर समुदायले बोकी हनुमानढोकाभित्र नवपत्रिका (केरा, कल्चु, हलेदो, वैजयन्ती, बेल, दारिम, अनार, अशोक, माना , पिँडालुको बोट,पात र धानकोबाला ) तरिकासँग बोकेर फूलपाती भित्र्याउने र टुँडिखेलमा राष्ट्र प्रमुखको उपस्थितिमा फूलपाती बढाइँ गरिन्छ ।

महाअष्टमी (कुछिभोय्)
आश्विन शुक्ल अष्टमीका दिन मूल दसैँ नुहाई–धुवाई शुद्ध चोखो भई समयबजी (समय, चिउरा, कालो भटमास, छोयला, गोजा) आदि राखेर पेखालुखा (घरको मूल ढोका अगाडिको पृथ्वी), गणेश (गणशक्ति) र पञ्चबुद्धको पूजा गरिन्छ ।

थापँ पूजापछि साँझ नेवारहरू केराको पातमा कुछी भोय् (२ माना चिउरा), ९ किसिमका घासा (राँगाको मासु, बोडी, साग, आलु, अचार) राखी भोज खाइन्छ । २ माना खान नसक्नेले मानामा कागज कोच्छन् ।

मरु गणेश जात्रा
कुछिभोय् (अष्टमी)देखि असं चालंसम्म हुने, मरु गणेश जात्रा राजा लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डप निर्माण गर्नुअघि जामन गुभाजुले बौद्ध पद्धतिमा देवन्यास गरी चलाएको आख्यान छ । एक समय असन अन्नपूर्ण देवीस्थित अस्वाँ रूख (अशोकारिष्ट)को हाँगा मरु गणेशसम्म फैलिएको हुँदा अन्नपूर्ण र मरु गणेशलाई आमा–छोरा मानिन्छ।

तहविल चोकका धमना साय्मिले मरुमा गजुर लगाउँदा अशुभ भएपछि क्षमाअष्टमी जात्रा थालिएको हो।

नोचा गुथिको पूजा
साँझ नाय्खिं बाजाले थकाली ल्याएपछि द्योछेंबाट देवता खटमा प्रतिष्ठा गरिन्छ । थकालीले ताय, अम्बा, केरा, मूला, फूलमालासहित ३ वटा बोका बलि दिएपछि खटलाई कुमारी रथारोहण गर्ने मार्ग थने र कोनेमा घुमाउँछन् । मध्यरात मरु यज्ञकुण्डमा ३२ किसिमका अन्न होम र राँगा बलि नवमीमा दिइन्छ ।

महानवमी (स्याक्वत्याक्व)
कौलाथ्व नवमी (नवमी)लाई दसैँको मूल कालरात्रि भनी महालक्ष्मी, सरस्वती, महाकाली पूजा हुन्छ । अन्न, धन, शास्त्र (अर्थ, ज्ञान र शक्ति) स्थिरताका लागि देवीलाई कुखुरा, हाँस, बोका, राँगा, च्याङ्ग्रा बलि दिइन्छ । संस्कारअनुरूप बज्र, घण्टा, ताला, पुस्तक, अन्न, कुटो–कोदालो थापना गरी माकःचामा मोहनी (कालो टीका) थापिन्छ।

मोहनीको अर्थ कालो टीका थापी तन्त्र साधना गर्नु नै हो । यस दिन कारखाना, पसल, मेसिन, सवारी साधनलाई बलि दिएर पुजिन्छ । काठमाडौंको हनुमानढोकास्थित तलेजु मन्दिर भक्तजनका लागि खुला गरिन्छ।

भक्तपुरको नवदुर्गामा विधिवत पूजालगत्तै जाँड, रक्सी खुवाएर मातेको राँगालाई लखेटीलखेटी ब्रह्मायणी पुर्‍याएर बध गरिन्छ । सोही राँगाको अस्थिपञ्जर जोडेर पूजा जात्रा गर्ने अलौकिक संस्कार हुन्छ यहाँ ।

दसैँको पायोजात्रा र तलेजुमा राँगा बलि

शक्ति साधक नेवार आफ्नो शरीरमा आफैँले देवता चढाई मनोकाङ्क्षा पूरा गर्छन् । यसका लागि काठमाडौं हनुमानढोका, भक्तपुर र पाटन तलेजुबाट पायो जात्रा निकालिन्छ । पायो, खड्ग जगाउने आगम र निगमतन्त्रको गुढ विधि हो । यस दिन हनुमानढोका तलेजुचोकमा १०८ वटा राँगा, बोका बलि दिइन्छ । खड्ग हातमा लिई तलेजु आगमघरबाट निकालिँदा खड्गधारी व्यक्तिमा देवता चढिरहेको हुन्छ।

कथाअनुसार राजा गुणकामदेवले पीठ जगाउन पायोजात्रा थालेका हुन् । भक्तपुरमा भने राजा हरिसिंहदेवले तलेजुबाट पायोजात्रा निकालिएको हो । पायो दर्शनले अष्टमहाभयबाट मुक्ति पाइन्छ भन्ने विश्वास गरिन्छ ।

दशमी टीका (विजया दशमी)देखि पूर्णिमासम्म

आश्विन शुक्ल दशमी (कौलाथ्व)का दिन बिहान नित्य पूजा चोखो गरी घटस्थापनाका दिन राखिएको जमरा घरको मूली महिला ( थकाली नकीं)ले पूजा गरी निकाल्छन् । यस दिन आगमबाट रातो वस्त्र लगाई कुमारी, पहेँलो वस्त्र लगाई बसुन्धरा, सुन्तला रङकी अजिमाँ र नीलो लुगा लगाई भैरवी पायो निकालिन्छ । असन पायो भने एकादशीका दिन निकालिन्छ ।

विजया दशमीका दिनदेखि मान्यजनका हातबाट टीका थाप्ने कार्य आश्विन पूर्णिमासम्म रहन्छ । मातृशक्तिको उपासनाका दिनका रूपमा लिइने दशमीको भोलिपल्ट मरु गणेशलाई देवताघरमा राखी खटजात्रा गरिन्छ ।
आश्विन शुक्ल चतुर्दशीका दिन काठमाडौंको श्रीघःमा दीपावली र पूर्णिमाको साँझ मत्र्यमण्डलमा घुम्न आउने महालक्ष्मी पूजाका लागि रातभर आकाशदीप बालिन्छ ।

धर्मस्थली (धमाथु/जात्रा)
कोजाग्रत पूर्णिमा र भोलिपल्ट २ दिन धर्मस्थलीस्थित धमाथु बौद्ध चैत्य जात्रा मनाइन्छ । दसैँको अन्तिम दिन त्यसमाथि धान काट्ने चटारो छाडी जात्रामा सहभागी हुन्छन् धर्मस्थलीबासी । राजा मानदेवका पुर्खा धर्मदेवको राज्यकालमा स्थापित मानिन्छ ।

जात्रामा नायखीँ बजाएर भक्तालुलाई निम्तो दिने र ज्यापु समाजद्वारा बजाइने धिमे बाजा पुगेपछि खट उठाइन्छ । बालाजु बाइसधाराबाट ५ किलोमिटर पूर्वोत्तरमा डाँडाले घेरी थुम्कोमाथि धर्मस्थली बस्ती छ ।

वैदिक दसैँ
त्रेतायुगका श्रीरामद्वारा आफ्नी पत्नी सीता हरण गर्ने रावण बधको खुसियालीमा बलिरहित दसैँ मनाउँछन् । यिनीहरूमा रावणको पुतला बनाई जनसमुदायका माझ बारुद पड्काएर अन्त्य गरी खुसी साटिन्छ ।
अस्त्र परित्याग दिवस
यस दिन अशोक सम्राट, जसले सत्ताका लागि ९९ जना दाजुभाइको हत्या गरे, त्यसको पश्चात्तापमा आश्विन पूर्णिमाका दिन शस्त्र परित्याग गरी सम्पूर्ण जनमा हिंसा र भयबाट मुक्त गरे । यशु जन्मनुभन्दा ३ शताब्दीअघि अशोकले आफू सम्राट बन्नका लागि कलिङको युद्धमा १ लाख बढीको हत्या गरे भने डेढ लाख जनालाई कैदी बनाए तर अशोकले बुझे– ‘रगतको दाग रगतले कहिल्यै मेटिँदैन ।’ फलस्वरूप बुद्ध धर्ममा दीक्षितभई विश्वभर ८४ हजार बौद्ध चैत्य स्थापना गरे ।

तराईमा दुर्गा पूजा
तराई र भारतको बिहारमा दसैँमा माटोको १० हाते दुर्गाको मूर्तिलाई हर्षोल्लासपूर्वक पूजा गरी भोलिपल्ट सिन्दूर जात्राका साथ नदीमा सेलाइन्छ । सुन्दर सिर्जनाहरू एक दिन अन्त्य हुन्छन् भन्ने सन्देश दिन मूर्ति सेलाइन्छ ।

दसैँ र गण नृत्य
दशमीको रात भक्तपुर नवदुर्गा गण नृत्य पशुपति, हनुमानढोका, पाटन दरबार, बनेपा, पनौती क्षेत्रमा नचाइन्छ। राजा शिवदेवले पशुपति क्षेत्र ९ शिवलिङ्ग, ९ कुण्ड, ९ डबली, ९ टोल, ९ जातका नेवारसहित व्यवसथापन गरेका बताइन्छ ।

राजराजेश्वरी घाटनेर नवदुर्गा द्योछें निर्माण पनि गराएछ, जहाँ पुरानो देवी गण मूर्ति बनाउनुपर्‍योे भने भलभल अष्टमीका दिननै बनाइन्छ। पाशुपत क्षेत्रमा १२ वर्षको एक पटक दसैँमा ललितपुरको हरिसिद्धि गण नृत्य, ठिमी बोडेको नीलबाराही नचाइन्छ ।

प्रतिक्रिया दिनुहोस्