फुटपाथमा पैदलयात्रीको पहिलो अधिकार : बालेन शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप दीर्घकालीन रुपमा सञ्चालन गर्ने बताएका छन्। दसैँको बेला फुटपाथ व्यापारीलाई हटाएको विषयमा केहीले महानगरको आलोचना गरिरहेको बेला आज उनले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन्।

‘सडक व्यापारले पैदलमार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो। त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौं,’ बालेनले भनेका छन्।

फुटपाथ व्यापारलाई दसैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको समेत उनले जनाएका छन्। ‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ। यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ। सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो। यो कायम छ,’ उनले भनेका छन्।

सहरी सरसफाईलाई पूर्ण सरसफाइसम्म पुर्‍याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेको जानकारी उनले विज्ञप्ति मार्फत दिएका छन्। आर्थिक बर्ष २०७९/८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ।

फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको उनले विज्ञप्तिमा स्मरण गरेका छन्। यो नीति प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताएका छन्।

‘पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ। अन्य समयभन्दा यो बेला  ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरू किनमेलका घर बाहिर निस्कने समय हो। उहाँहरूको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो,’ फुटपाथ व्यापारीलाई हटाउनु परेको कारण काठमाडौं महानागरका प्रमुख बालेनले खुलाएका छन्। विज्ञप्तिमा उनले सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीतिबमोजिम आफ्ना कार्यक्रमहरूलाई निरन्तरता दिने कुरा दोहोर्‍याएका छन्। 

 

प्रतिक्रिया दिनुहोस्