दसैंको बन्दअघि नेप्से १६ अंकले बढ्यो



काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन बिहीबार पनि बढेको छ। सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अंकले बढेर १ हजार ८५३.७६ विन्दुमा पुगेको छ।

जीवन बीमाबाहेक सबै समूहको सेयर बढेकोमा माइक्रोफाइनान्स र उत्पादन समूहको सेयर भने उच्च अंकले वृद्धि भएको छ। कारोबार रकम पनि बुधबारको तुलनामा सामान्य बढेको छ।

बुधबार ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज २ सय २३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता सेयर ६३ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल इन्स्युरेन्स कर्पोरेसनको प्रमोटर सेयर ४ करोड ४८ लाख रुपैयाँमा किनबेच भयो।

आज अभियान लघुवित्तको सेयर १० प्रतिशत तथा गुराँस लघुवित्त, समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एनआईबीएल ब्यालेन्स फन्डको सेयर ५ प्रतिशतभन्दा धेरैले बढेको छ। साम्लिङ पावर कम्पनीको सेयर भने झन्डै ८ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्