सिअनमी र स्टाफ नर्सलाई एउटै तहमा राखिएको प्रति गोनानको आपत्ति



काठमाडौं । सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल (गोनान) ले सरकारले सिअनमी र स्टाफ नर्सलाई एउटै तहमा राखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघकी अध्यक्ष कल्पना श्रेष्ठले स्थानीय तहको सांगठनिक संरचना स्वीकृत गरी स्थानीय तहमा परिपत्र गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको विषय सरकारात्मक भए पनि यसमा नीति नियम पालना नगरिएको, अव्यवहारिक र गैरजिम्मेवारीपूर्ण निर्णय भएको जनाएकी छन्।

वुधबार स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्ता विभेदकारी निर्णय सच्याउन संघले आग्रह गरेको छ।

ध्यानाकर्षण पत्रमा स्वास्थ्य सेवा ऐन र नियमावलीअनुसार अनमी र स्टार्फ नर्सको कार्यविवरणबारे जानकारी गराउँदै फरक पेशागत समूहलाई एउटैमा राख्ने निणय सच्याउन आग्रह गरिएको छ।

‘स्वास्थ्य सेवा ऐन र नियमावलको पालना नगरिएको यस्तो अव्यवहारिक र गैरजिम्मवारपूर्ण निर्णयले स्टाफ नर्स र सिअनमीबीचमा आन्तरिक द्वन्द्व उत्पन्न गराइ कार्यक्षेत्रमा अस्वस्थ वातावरण सृजना गर्ने कार्य भएको छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत नर्सहरुको आत्मबल र मनोबल गिराउने कार्य भएकोमा गुणस्तरीय सेवा पनि प्रभावित हुने संघको ठहर छ।

यस्तो निर्णयलाई सच्याउन एवम् आगामी दिनमा यस्ता विषयमा निर्णय गर्दा सम्बन्धित विज्ञसँग छलफल गर्न पनि संघले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्