कर्णालीमा ५ सय ४१ जनालाई डेंगी संक्रमण



सुर्खेत । कर्णाली प्रदेशभर ५ सय ४१ जना डेंगीबाट संक्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेंगीबाट चार सय २२ जना संक्रमित छन्। प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालीकोटमा २१ र दैलेखमा १४ जना डेंगीबाट संक्रमित छन्।

यस्तै रूकुमपश्चिममा १८, हुम्ला र डोल्पामा एक–एक जना डेंगीबाट संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेंगी रोग नियन्त्रण फोकल पर्सन श्याम आचार्यले जानकारी दिए।

सुर्खेतको वीरेन्द्रनगर क्षेत्र डेंगी संक्रमणको रेडजोनमा छ । वीरेन्द्रनगरमा हालसम्म दुई सयभन्दा बढी डेंगीबाट संक्रमित छन् । प्रदेश अस्पतालका डा. केएन पौड्यालले लामखुट्टे नियन्त्रणका साथै बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपर्ने बताए । डेंगी पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । संक्रमितलाई टोकेको लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा डेंगी फैलिन्छ।

कर्णालीमा मुटुरोगी बढ्दै

कर्णालीमा मुटुरोगका बिरामीको संख्या बढ्दै गएको पाइएको छ। पछिल्लो समय जीवनशैली र खानपानका कारण मुटुरोगी बढ्न थालेका चिकित्सकले बताएका छन् । चिकित्सकहरूका अनुसार अव्यवस्थित खानपानका कारण मुटुरोगी बढ्दै गएका हुन् ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका अनुसार उच्च रक्तचापको समस्या बढीजसो देखिएको छ। विलासी जीवनशैली र अव्यवस्थित खानपानका कारण मुटुरोगको जोखिम बढ्दै गएको चिकित्सकको भनाइ छ।

तनाव कम गर्ने बहानामा मद्यपान, धुमपान र निद्रा लाग्ने औषधि सेवन गर्ने क्रम बढ्दो छ। यसले मुटुलाई थप असर गरिरहेको प्रदेश अस्पतालका डा. केएन पौड्यालले बताए । ‘पछिल्लो समय खानपानको शैली र काम गर्ने शैली फेरिएको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्