निर्वाचन आयोगमा ‘प्रेस अफिस’को उद्घाटन



काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरितका काम भए-नभएको सम्बन्धमा अनुगमन गर्न ‘प्रेस अफिस’को उद्घाटन गरेको छ । आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरुको अनुगमन गर्ने उद्देश्य राखेर ‘प्रेस अफिस’को स्थापना गरेको जनाएको छ।

शुक्रबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रेस अफिसको उद्घाटन गरे । ‘प्रेस अफिस’को उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले सो अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न कामहरु गर्ने बताए ।

त्यस्तै निर्वाचनसँग सम्बन्धित कुराहरुको उत्पादन गर्दै डिजिटल माध्यम र आमसञ्चार माध्यमबाट सम्प्रेषण गरिने पनि उनले उल्लेख गरे। उनले सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत् राजनीतिक दल तथा उम्मेदवारहरुले आचारसंहिता विपरितका क्रियाकलाप गरेको विषयमा पनि प्रेस अफिसमार्फत अनुगमन हुने बताए ।

उनले भने, ‘पहिलो काम भनेर हामीले सञ्चार माध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न कामहरु गर्ने भनेर भनिएको छ। कतिकुरा अन्तर्वार्ता गर्ने, प्रेस सम्मेलन गर्नुपर्‍यो भनेपनि कुनकुन विषयमा गर्ने ? अनि कुन कुनमा कोको उपस्थित हुने भन्ने सम्मको व्यवस्थापन यसले गर्छ। दोस्रो, सामाजिक सञ्जालमा सम्प्रेषण गरिने सामग्रीहरुको उत्पादन र सम्प्रेषण गर्ने। प्रचारप्रसार डिजिटल माध्यमबाट, आमसञ्चार माध्यमबाट गर्ने भनेका छौँ। तेस्रो, सामाजिक सञ्जाल र डिजिटल मिडियाको केही अनुगमन सम्बन्धी कामहरु गर्छौं र सामाजिक सञ्जालको अनुगमन प्रभावकारी ढंगले अन्य निकायहरुबाट नभएको जस्तो मिडियाको अनुगमन प्रेस काउन्सिलबाट हुन्छ। तर सामाजिक सञ्जालको अनुगमन कहाँबाट कसरी हुन्छ ? भन्ने सन्दर्भमा आयोग आफैँ खट्नुपर्ने अवस्था छ। हामीले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति बनाएका छौँ। त्यस्तै गरेर रणनीति पनि तयार गरेका छौँ। विशेष गरेर आचारसंहिता विपरित कुनैपनि क्रियाकलाप, कुनैपनि उम्मेदवार अथवा राजनीतिक दलबाट भइराखेका छन् कि छैनन्, विभिन्न किसिमका राजनीतिक विज्ञापनहरु पनि हुनसक्छन्। त्यो कति भइराखेको छ ? भन्ने विषय पनि हामीले यसको माध्यमबाट हेर्छौं। चौथो, सञ्चारमाध्यमहरुमा के–कस्ता सामग्रीहरु गइराखेका छन् ? कसरी प्रकाशन, प्रशारण भइराखेका छन् ? त्यहाँ नागरिकहरुको समान पहुँच पुगेको छ कि छैन ? लगायतका विषयवस्तु
हेर्नुको अतिरिक्त राजनीतिक दलहरुबाट, उम्मेदवारहरुबाट हुने सूचना पनि कसरी प्रकाशन भइराखेको छ ? सबै उम्मेदवारलाई समान किसिमको अवसर, पहुँच दिनुहोस् भनेर हामी सञ्चार माध्यमलाई पनि भन्छौँ। त्यो स्थिति छ कि छैन भनेर हेर्ने काम गर्छौ।’

आयोगले हरेक दिनको गतिविधि समेटेर साँझ ६ बजेभित्र ईबुलेटिन प्रकाशन गर्ने पनि उनले जानकारी दिए। प्रमुख आयुक्त थपलियाले आयोगमा प्रवक्तासँगै थप ३ जना सहायक प्रवक्ता पनि बनाएको र विषयवस्तु हेरेर सहायक प्रवक्ताहरुसँग पनि सूचना लिन सकिने बताए। प्रेस अफिसमा आयोगका प्रवक्ताको नेतृत्वमा २७ जना विभिन्न क्षेत्रका कर्मचारीहरु रहने उनले बताए । उनले ३ जना विभिन्न क्षेत्रका विज्ञहरुलाई पनि नियुक्त गरिएको जानकारी दिए।

प्रमुख आयुक्त थपलियाले आयोगले आमसञ्चार माध्यमहरुको अनुगमन नगर्ने स्पष्ट पारे। आयोगले आमसञ्चार माध्यमको अनुगमन गर्ने धृष्टता कहिल्यै नगर्ने उनको भनाइ छ । उनले कस्ता विषयवस्तुहरु गइराखेका छन् र सो विषयवस्तुहरुले निर्वाचन व्यवस्थापनमा कत्तिको सहजीकरण भएको छ भन्नाका लागि आन्तरिक रुपमा विश्लेषण गर्ने उनले स्पष्ट पारे।

उनले भने, ‘यहाँ यदाकदा मैले सुनेको छु, कहाँ आमसञ्चार माध्यमको पो अनुगमन गर्न सुरु गरेछ आयोगले भनेर । हामीले त्यस्तो धृष्टता कहिल्यै गर्दैनौँ। तपाईहरु यसमा ढुक्क हुनुभए हुन्छ। मलाई त के लाग्छ भने आमसञ्चार माध्यमको अनुगमन भनेको अरु कसैले गर्ने होइन, स्वयम आमसञ्चार माध्यमले नै गर्ने हो। तपाइले प्रवाह गरेको कुनै पनि विषयवस्तु कस्तो भइराखेको छ भनेर तपाईहरु आफैँले अनुगमन गरिरहनु भएको हुन्छ। तपाईको पाठकले गरिराखेको हुन्छ। त्यो नै सबैभन्दा गतिलो अनुगमन हो भन्ने हामीलाई लाग्दछ। हामीले कम्तिमा कस्ता कन्टेन्टहरु गइराखेका छन्, र ति कन्टेन्टहरुबाट समग्रमा निर्वाचनको व्यवस्थापनलाई कत्तिको सहजीकरण भएको छ भनेर सामान्य विश्लेषण गर्ने आन्तरिक रुपमा त्यो कार्य निर्वाचन आयोगले गर्दछ।’

उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति आमसञ्चार माध्यमको अत्यन्त महत्वपूर्ण भुमिका रहने भन्दै पत्रकार आचारसंहिता २०७३ का प्रावधानहरुलाई निर्वाचनमा प्रयोग गर्न आग्रह पनि गरे।

प्रतिक्रिया दिनुहोस्