चुनावकै मुखमा जसपा र लोसपाका दर्जनभन्दा बढी नेताले छाडे पार्टी



काठमाडौं । ४ मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति जति–जति छोटिँदै गइरहेको छ, मधेसका २ शक्तिको राजनीतिक सामथ्र्य उति–उति घटिरहेको छ। चुनावको मुखमा ती २ दलमा अदलबदलको क्रम तीव्र भएको छ। मधेसमा भइरहेको दल अदलबदलको शृङ्खलाले मधेस केन्द्रित २ दल जसपा र लोसपालाई नै चुनावको मुखमा गम्भीर सङ्कट पैदा गर्दै लगेको छ।

जनता समाजवादी पार्टी (जसपा) सँगको फुटपछि मधेसभित्रै खुम्चिएको महन्थ ठाकुर नेतृत्वको लोसपाभित्र पछिल्लो समय असन्तुष्टि बढेको छ । यसको परिणाम प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सम्मुखमा केन्द्रीय तहका नेताहरूले धमाधम पार्टी छाडिरहेका छन्।

लोसपा गठन भएयता केन्द्रीय तहका १ दर्जनभन्दा बढी नेताले पार्टी छाडिसकेका छन् । पार्टी छाडेका अधिकांश नेता एमाले र कांग्रेस प्रवेश गरिरहेका छन्। पार्टी छाड्ने अधिकांशले ‘मधेस आन्दोलनको मर्म र भावनालाई मधेस केन्द्रित दलहरूले महसुस गरेनन्, खाली कुर्सीसँग सौदाबाजी गरे’ भन्ने आरोप लगाउँछन् ।

लोसपाको तुलनामा जसपाले थोरै नेता तथा कार्यकर्ता गुमाएको छ । तर जसपा गठबन्धनमा रहेकाले पार्टी छाडेर जानेहरूले केही आश लिएर बसेका छन् । पार्टी फुटपछि स्थानीय तह निर्वाचनमा आधार क्षेत्र मानिएको मधेस प्रदेशमै अनपेक्षित परिणाम आएपछि झस्किएको लोसपा आसन्न चुनावमा गठबन्धन गर्नुपर्ने दबाबमा छ । यसका लागि उसले ४ सदस्यीय वार्ता टोली पनि बनाएको छ ।

पार्टी परिवर्तनको शृङ्खला
त्यसो त लोसपाभित्र पार्टी परित्यागको सिलसिला स्थानीय तह निर्वाचन अघिदेखि नै सुरु भएको हो । १० फागुन २०७८ मा लोसपाभित्र प्रभावशाली मानिएका नेता वृशेषचन्द्र लालले लोसपा छाडेर अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेस लोकतान्त्रिक पार्टी ब्युँताए । आदिवासी जनजाति आन्दोलनबाट स्थापित थारू नेता राजकुमार लेखीले पनि १४ असोज २०७८ मा लोसपा त्यागेका थिए ।

२८ माघ २०७८ मा स्थानीय तह निर्वाचनकै ताका वीरगन्जमा मधेस आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका लोसपाका नेता राजेशमान सिंह लोसपाबाट जसपा प्रवेश गरे । गत वैशाखको स्थानीय तह निर्वाचनबाट उनी जसपाबाट वीरगन्ज महानगरपलिकाको प्रमुख निर्वाचित भए । १३ चैत, २०७८ मा लोसपाका केन्द्रीय सदस्य विजयकुमार यादव पनि पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका थिए । त्यस्तै, १३ भदौमा कपिलवस्तुको तौलिहवामा सिके राउतले लोसपाका केन्द्रीय सदस्य राजेन्द्र गुप्तालाई जनमत पार्टीमा प्रवेश गराए ।

लोसपामा रहेर टिकट पाउने र चुनाव जित्ने सम्भावना एकदमै न्यून देखेपछि नेताहरूले पार्टी परित्याग गरेको लोसपाकै नेताहरूको भनाइ छ । एकातिर अन्य दलसँग तालमेल गर्नुपर्ने बाध्यता, अर्कातिर तालमेल गर्दा कम सिट पाउने अवस्थाका कारण संसदीय यात्रामा आफूलाई सुरक्षित गर्न नेताहरूले आ–आफ्नो बाटो बनाएका हुन्। यसका साथै नेतृत्वले आफ्नालाई च्याप्ने र कार्यकर्तालाई मतलब नै नगर्ने प्रवृत्ति रहेको पनि लोसपा छाडेका नेताहरू बताउँछन्।

एमालेमै प्रवेश
प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मुखमा अधिकांश मधेसी नेताहरू पार्टी छाडेर एमालेमै प्रवेश गरेको देखिन्छ । पछिल्लो २ साताभित्र मात्रै मधेस केन्द्रित दलका ६ निवर्तमान सांसद एमाले प्रवेश गरेका छन् । लोसपाका प्रमुख सचेतक उमाशङ्कर अरगरिया, जसपाका सांसदहरू अमृता अग्रहरि, डा. रिना यादव, अञ्जुकुमारी यादव र रुही नाज एमाले प्रवेश गरेका छन् । त्यस्तै लोसपाका मधेस प्रदेश सांसद प्रह्लाद गिरी पनि एमाले प्रवेश गरेका छन्  ।

अरगरिया र अग्रहरीसँगै करिब ४ हजार समर्थक पनि प्रवेश गरेको दाबी एमालेको छ । अरगरिया २०७४ को निर्वाचनमा धनुषा– २ बाट वामगठबन्धन र कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै तत्कालीन समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित निवर्तमान सांसद हुन् ।

त्यस्तै, प्रतिनिधिसभाको कार्यकाल सकिनु १ दिनअघि मधेस प्रदेशकी जसपा सांसद डा. रिना यादव पनि ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेकी हुन्। यसअघि जसपाकै सांसद अञ्जुकुमारी यादव र रुही नाज पनि धनुषाको आमसभामा एमाले प्रवेश गरेका थिए । रुही नाज प्रतिनिधिसभा सदस्य हुन् भने अञ्जु प्रदेशसभा सदस्य हुन्। बुधबार लोसपाकी समानुपातिक सांसद चन्दा चौधरी पनि कांग्रेस प्रवेश गरेकी छन् । उनलाई कांग्रेसले सर्लाहीको क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाउने आश्वासन दिएको छ ।

जसपाका केन्द्रीय सदस्य रामउदित राम, शम्भु साह र नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव पनि निर्वाचनको मुखमै एमालेमा प्रवेश गरेका छन् । लोसपाका कार्यकारिणी सदस्य विमल श्रीवास्तवले सक्रिय राजनीतिबाट सन्न्यास लिएका छन् । श्रीवास्तवले आफू सक्रिय राजनीतिमा नलाग्ने बताए पनि उनीनिकट कार्यकर्ता भने एमालेमा प्रवेश गरेका छन् ।

एमालेको मधेस मिसन

एमालेले मधेसमा आफ्नो गुमेको प्रभाव फर्काउने प्रयास स्थानीय निर्वाचनदेखि नै गरिरहेको छ। स्थानीय निर्वाचनमा पनि एमालेले मधेसमा अन्य दलका नेता–कार्यकर्ता प्रवेश गराएको थियो । माधव नेपालकै गृह जिल्ला रौतहटको राजपुर नगरपालिकाका प्रमुख मोहम्मद साकिल अख्तर र अन्य २ वडाध्यक्ष एमाले प्रवेश गरेका थिए।

वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी र जसपाबाट निर्वाचित आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्तफा अन्सारी पनि एमालेमा प्रवेश गरेका हुन्। आसन्न चुनावमा पनि त्यही परिदृश्य दोहोरिने विश्लेषकको अनुमान छ।

विगतमा मधेसी दलहरूले मधेस आन्दोलनमा भरमा चुनाव जितेर सम्मानजनक स्थान पाएका थिए। तर अहिले मधेसमा आन्दोलनको न रापताप छ न त मधेसी दलबीच मिलाप नै। मधेसी दल आपसमा भिडेर चिराचिरा परेका छन् । जसपा र लोसपाभित्रै अन्तरविरोध छ। ओलीले यसैलाई ‘क्यास’ गर्न ‘मिसन मधेस’ सुरु गरेका छन् ।

अहिले मधेसमा ओलीलाई स्वागत गर्न मधेसी दलकै नेताहरू तयार छन् । एमाले प्रवेश गर्ने लिस्टमा मधेसी दलकै नेताहरू बढी देखिन्छन्। स्थानीय तह निर्वाचन २०७९ को मत परिणामले पनि मधेसमा एमालेको सिट बढेको देखाउँछ । त्यसैले ओली अहिले हौसिएर मधेस दौडाहा गरिरहेका छन्।

आफ्नो पार्टीका नेतालाई तटस्थ राखेर बाँकी पार्टीका नेतालाई आफ्नो पार्टीमा तान्ने नीतिमा ओलीको मधेस दौडाहा आक्रमक ढङ्गले अगाडि बढिरहेको देखेर सबभन्दा बढ्ता मधेसी दलमा हलचल पैदा भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्