सन्दीप लामिछाने भन्छन्- निर्दोष छु, असोज २० गते नेपाल फर्किन्छु



काठमाडौं । नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आगामी बिहीबार नेपाल आइपुग्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू आगामी बिहीबार २० गते नेपाल आइपुग्न लागेको बताएका हुन्।

बलात्कारको आरोप लागेका लामिछानेले आफू नेपाल आइपुग्नेबित्तिकै कानुनी कारबाहीको लागि आफैं प्रशासनमा हाजिर हुने पनि बताएका छन्। उनले आफूलाई कानुनी प्रणालीमा अटल विश्वास रहेको उल्लेख गरेका छन्। उनले आफूले छिटै नै न्याय पाउने विश्वाससमेत व्यक्त गरेका छन्।

‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् ।

सन्दीपविरुद्ध एक नाबालिगले भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसको तीन दिनपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बन गरेको थियो। निलम्बनमा परेसँगै क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ष्टइन्डिज पुगेका लामिछानेको सम्झौता रद्द भएको थियो।

सम्झौता रद्ध भएसँगै उनले आफू चाँडै नेपाल फर्किने र आफूमाथि लागेको आरोपको कानुनी प्रतिवाद गर्ने प्रतिक्रिया दिएका थिए। तर त्यसपछि लामो समय सम्पर्कविहीन भएका लामिछानेले आइतबार साँझ मात्रै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू अस्वस्थ रहेको र चाँडै नेपाल फर्किने बताएका थिए।

तर यसअघि पनि छिट्टै नेपाल फर्किने बताएर सम्पर्कविहीन भएका लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो।

प्रतिक्रिया दिनुहोस्