गोरखा दरबारबाट पठाइयो फूलपाती



गोरखा । गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आइतबार बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौं पठाएका हुन् ।

फूलपातीको डोली बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आइतवार साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ।

कार्यालयका कर्मचारी समेत रहेका चण्डीथानका पुजारी कुलबहादुर थापाको नेतृत्वमा हुनमानढोका दरबारमा फूलपाती पठाइएको कार्यालय प्रमुख भुसालले जानकारी दिए।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरू गरेदेखि बर्सेनि बडादशैंको सातौं दिन गोरखा दरबारको दशैंघरबाट फूलपाती सहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको छ।

गोरखा दरबारको दशैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ। विधिपूर्वक दशैंघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाइ गरिएको उनले बताए।

गोरखा दरबारको दशैंघरमा पनि आइतवारै साँझ फूलपाती भित्र्याइन्छ। गोरखा दरबार परिसरबाट गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य लगायतले फूलपातीको बिदाइ गरेका थिए।

सतिपिपल चौताराबाट गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य, गोरखा नगरपालिकाका निवर्तमान नगर प्रमुख राजनराज पन्त लगायतले हनुमानढोका दरबारका लागि फूलपाती बिदाइ गरेका छन्।

प्रतिक्रिया दिनुहोस्