युवापुस्ताले चासो नदिँदा राडीपाखी बुन्ने पेशा संकटमा



बागलुङ । ‘आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि २०० हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौंबाट हामीहरूले राडीपाखी बुन्ने गर्थ्यौं, अहिले भेडा पाल्नेको संख्या घटेपछि रौं पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए।’

बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली लागे पनि उनको सीप तन्नेरीकोभन्दा कम छैन। अहिले पनि उनी हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आएकी छन् तर पहिलेको जस्तो ऊन पाउन छोडेपछि राडीपाखी बुन्ने पेशा संकटमा पर्दै गएको छ। भेडापालन गर्ने र हातमा सीप भएकाले चासो दिन छोडेपछि गाउँमा राडीपाखी बुन्ने प्रचलन हराउन थालेको उनले बताइन्।

‘पहिला राडीपाखी बेचेरै खान लाउन पुगेको पुग्थ्यो, घर व्यवहार चलाइन्थ्यो, गाउँमा धेरैले राडीपाखी बुन्ने गर्थे, अहिले कसैले पनि बुन्दैन हामी बूढाबूढी भइयो, हातपाखुरा बस्न थाले,’ यमकलाले भनिन्, ‘अहिले त भेडा पनि कम मान्छेले मात्रै पाल्ने गर्छन्, ऊन पनि पाउन मुस्किल हुन्छ, भनेको बेला पाइँदैन, अब विस्तारै यो पेशा हराउँदै जान्छ, अहिले नै धेरै कम भएको छ ।’

आफूले बुनेका राडीपाखी देशमा मात्रै नभई विदेशसम्म पुग्ने गरेको जनाउँदै उनले अहिले माग बढे पनि पुर्‍याउन नसकेको बताइन्। आफूहरूले अग्रजबाट निकै चासो दिएर सिकेको भन्दै अहिलेका नयाँ पुस्ताले यसप्रति चासोनै नदिँदा राडीखापी बुन्ने पेशा लोप हुँदै गएको उनले बताइन् ।

‘अहिलेका पुस्ताले यो काम गर्न झन्झट मान्छन्, यस्तो काम गर्दैनन्, राडीपाखी बुन्न अली झन्झटिलो हुन्छ, त्यही भएर पनि होला सिक्नै चाहँदैनन्, मैले मेरा छोराछोरी र गाउँका अन्य मान्छेलाई पनि सिकाउन कोसिस गरें तर सकिनँ, चासो नै दिएनन्,’ उनले भनिन्, ‘मैले बुन्न छोडे भने त यो गाउँमा मान्छे नै हुन्न होला, अहिले मै मात्रै हुँ यसरी काम गर्ने।’

तमानखोला–३ की टेककुमारी बुढालाई पनि राडीपाखी बुन्ने परम्परा हराउँदै गएकोमा चिन्ता छ । उनले भनिन्, ‘हराउन थाल्यो यो पेशा, अब कसरी बचाउन सकिन्छ र ? अहिलेका युवायुवतीले यसप्रति चासो देखाएनन्, हामी २/४ जना छौं गाउँमा यो बुन्ने, हाम्रो हात बस्यो भने त गाउँमा राडीपाखी बुन्ने कोही हुन्न, अहिलेसम्म त हाम्ले जेनतेन बुनिराखेका छौं ।’

राडीखापी बुन्न भेडाको ऊन अतिआवश्यक पर्ने जनाउँदै भेडापालक पनि घट्दै गएको उनको भनाइ छ । पहिले–पहिले राडीपाखी बेच्नका लागि बागलुङको ठाउँठाउँमा मेला लाग्ने गरेको भन्दै अहिले तिमेला समेत नलाग्ने उनको भनाइ छ । नयाँ पुस्ताले सिक्न चाहे आफूले निःशुल्क रूपमा सिकाउने उनी बताउँछिन्।

‘राडीपाखी बेच्ने मेला पनि लाग्न छोड्यो, पहिले बागलुङ जिल्लाका धेरै ठाउँमा राडीपाखी बेच्ने मेला लाग्थ्यो, अहिले न मेला लाग्छ, न मान्छेले बुन्छन्, यसबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भनिन्, ‘यो काम अलि कति झन्झटिलो हुन्छ तर सिकेर बुन्दै गएपछि सजिलो लाग्छ, कोही युवायुवतीले सिक्न चाहे मैले निः शुल्क सिकाउने थिए।’

कला, संस्कृतिमा धनी जिल्ला बागलुङमा पुराना परम्परा र पेशा हराउन थाल्दा जिल्लाको पहिचान नै संकटमा पर्ने देखिन्छ। भेडाको रौंलाई प्रशोधन गरी धागो निर्माण गर्ने र विभिन्न काठका औजारबाट निर्माण गरिने राडीपाखी पछिल्लो केही वर्षयता जिल्लामा कम मात्रैमा देखिन्छ।

बागलुङमा उत्पादन हुने राडीपाखी खासगरी गुल्मीको रिडीमा लाग्ने माघेसंक्रान्ति मेलामा बढी बिक्री हुन्थे । बागलुङबाट यति बेला ठूलो मात्रामा राडीपाखी रिडीमा पुर्‍याउने र राम्रो मूल्य पार्ने गरेको निसीखोला–६ की ६७ वर्षीया पुनिकला घर्तीमगरले बताइन् ।

‘रिडीमा माघ १ गते ठूलो मेला लाग्ने गथ्र्यो, अहिले पनित्यो मेला लाग्छ, उति बेला हामीहरू गाउँका १०/१२ जना एक वर्षभरि बुनेको राडीपाखी बोकेर जान्थ्यौं, अहिलेको जस्तो मोटरबाटोको सुविधा थिएन, त्यहाँ पुग्न झण्डै ४ दिन लाग्थ्यो,’ उनले भनिन्, ‘त्यहाँ पुगेपछि राडीपाखीको खोसाखोस हुन्थ्यो, घर फर्किने बेला २/३ लाख रुपैयाँ लिएर आउँथ्यौं, अहिले त बुन्न पनि कम भयो, जान पनि छोडियो ।’

उनले एउटा राडी तयार गर्न ५ देखि १० दिनसम्म लाग्ने सुनाइन्। ओढ्न, बिच्याउनका लागि प्रयोग गरिने राडीपाखी विदेशमा समेत निर्यात हुने गरेको भन्दै पछिल्लो समय निकै कम भएको उनको भनाइ छ । घर्तीमगरले एउटा राडीलाई सामान्य ७ हजारदेखि ५० हजारसम्म पर्ने गरेको बताइन्।

राडीपाखी बलियो र वर्षौं टिक्ने हुँदै धेरैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ। स्थानीयले विदेशबाट आयातित कपडाको प्रयोग गर्न थालेपछि यसको उत्पादन कमभएको तमानखोला उनले बताइन्। अहिले बजारमा सिरक, डसना लगायत सबै खाले फ्रेन्सी सामान पाइन थालेपछि राडीपाखीको प्रयोग समेत कम हुँदै गएको उनको भनाइ छ।

उनले भनिन्, ‘हामी सानो हुँदा सिरक, डसना र कम्बल पाइँदैनथ्यो, मान्छेले ओढ्न बिछ्याउन राडीपाखीको प्रयोग गर्ने गर्थे अहिले सबैथरी कपडा बजारमा पाइन थालेपछि यसको उत्पादन र प्रयोग घट्यो।’ राडीपाखीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय दुर्लभ हुँदै जाँदा बूढापाकाले चिन्ता गर्न थालेका छन्।

गाउँले जनजीवन र जीविकापार्जनसँग जोडिएको राडीपाखी बुन्ने प्रचलन अहिले लोपोन्मुख अवस्थामा पुगेको तमानखोला–४ का कृष्ण सिर्पाली बताए। उनले यस्ता कला र सीपको संरक्षणमा स्थानीय पालिकाले चासो दिनुपर्ने सुझाव दिए।

‘राडीपाखी त गाउँले जनजीवनसँग जोडिएको पहिचान हो, अझ बागलुङ जिल्लाकै चिनारी हो, केही वर्षयता यसको प्रयोग र बुन्नेको संख्या नै कम भएको छ, स्थानीय सरकारले बुन्ने सीप भएका मानिसलाई प्रोत्साहन गर्ने र नयाँ पुस्तालाई सिक्नतर्फ आकर्षित गर्न सके यो पेशा लोप हुने थिएन,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्