घोडा संरक्षण गर्न घोडा दौड



जुम्ला । जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ। कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित प्रतियोगितामा यस वर्ष ३५ घोडा सहभागी भएका थिए।

करीब १७ वर्षअघिदेखि जुम्ला विमानस्थलमा सञ्चालन हुँदै आएको प्रतियोगिता बन्द भएपछि क्लबले यसवर्ष पुनः सञ्चालन गरेको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए। जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिएको उनले जानकारी दिए।

‘समाज विकासका लागि, असल परम्परा बचाइराख्न आवश्यक छ,’ उनले भने, ‘चौडा सडक र अग्ला घर हुनुलाई विकास बुझ्ने मानसिकताले नै हाम्रा मौलिकता लोप हुने स्थितिमा पुगेका छन् । तीन तहै सरकारले सहयोग गरेका छैन । यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउँछ।’

प्रतियोगितामा चन्दननाथ नगरपालिका–८ का आनन्द धराला, गुठीचौर गाउँपालिका–१ का हरिप्रसाद बस्नेत र गुठीचौर –२ का कालीप्रसाद बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने खुलातर्फ विकास बोहोरा, शंकर रोकाया र विपेन बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका क्लबले जनाएको छ।

पालिततर्फ चन्दननाथ नगरपालिका–१० का हर्कबहादुर शाही, गुठीचौर गाउँपालिका–५ का बीर्खबहादुर भण्डारी र गुठीचौर –२ का मुनसुर बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका क्लबले जनाएको छ।

प्रतियोगिताको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५, ३ र २ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्