हाम्रो अजेण्डा परिवर्तनको रक्षा र संविधान जोगाउने हो : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने अजेण्डा लिएर आगामी चुनावमा जाने बताएका छन्। विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतिको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका हुन्।

पौडेलले देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको भन्दै व्यवस्थामाथि संकट अहिले पनि कायम रहेको बताएका छन्। पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ। पहिलो अजेण्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो।’

उनले नेपाललाई सुशासन दिएर उन्नति गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिले षड्यन्त्र कायम रहेको आफूलाई अनुभूति भइरहेको बताएका छन्। उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरेका छन्।

पौडेलले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याएका छन्।

‘मुलुकको हितको लागि र समाजिक न्यायको लागि हामी डटिरहेका छौं। मुलुकलाई उन्नतिको मार्गका लैजानका लागि हामीले गठबन्धन गरेका हौं’, पौडेलले भनेका छन्, ‘प्रवुद्ध वर्गलाई अपिल गर्न चाहन्छु। अहिले नेपालको अवस्था के हो मुलुकलाई कुन प्रवृत्तिले पछाडि धकेल्ने खोजेका छन्। यी कुरालाई ध्यानमा राखेर व्यवस्थालाई कायम राखेर अगाडि बढ्नुको विकल्प छैन। जनताले अधिकार पाएको संविधानको रक्षा गर्नु नै आजको विकल्प हो।’

प्रतिक्रिया दिनुहोस्