एमाले र लोसपाको चुनावी गठबन्धन नहुने



काठमाडौं । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच गठबन्धन नहुने भएको छ । सोमबार दुवै पार्टीका अध्यक्षबीच भएको छलफल पछि २ पार्टी चुनावी गठबन्धन नगर्ने निर्णयमा पुगेका हुन् ।

सोमबार एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा छलफल भएको थियो। सो छलफलमा चुनावी तालमेल नगर्ने निष्कर्षमा २ नेता पुगेको लोसपाले जनाएको छ । एमालेसँग चुनावी तालमेल नहुँने तर सम्भव भयो भने कुनै शीर्ष नेताहरूको बीचमा सहकार्य हुनसक्ने लोसपाले जनाएको छ ।

लोसपाले एमालेसँग चुनावी गठबन्धन गर्नका लागि वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो । सो वार्ता समितिले एमालेका नेताहरूसँग ३ दिनसम्म छलफल गरे पनि एमालेले चुनावी गठबन्धनका लागि खासै चासो नदिएको लोसपा नेताहरूको भनाइ छ ।

एमालेले सकभर लोसपासँग गठबन्धन नहोस् भन्ने चाहेको लोसपा नेताहरुले बताएका छन् । मधेसमा एमाले प्रवेशले गर्दा नेताहरू उत्साहित भएको र एक्लै पनि चुनाव जित्न सकिन्छ भन्ने एमाले नेताहरुमा विश्वास देखिएको छ ।

मुख्यमुख्य क्षेत्र छाड्न नसक्ने, सिट पनि थोरै दिने देखिएको कारण लोसपा एमालेसँग गठबन्धन नगर्ने निष्कर्षमा पुगेको बताइन्छ । मधेसमा जति नेताहरू प्रवेश गरेका छन् ती सबैलाई व्यवस्थापन गर्न पनि एमालेले कुनै दलसँग गठबन्धन गर्न न चाहेको देखिन्छ । गठबन्धन गर्‍यो भने सिट बाँडफाँट हुन्छ र पार्टीमा टिकटकै लोभमा आएका धेरैजसो नेताहरूलाई व्यवस्थापन गर्न गाह्रो हुने देखिए पछि एमाले पनि पछि हटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्