इरानबाट चीन उडेको जहाजलाई नयाँ दिल्लीले दिएन आकस्मिक अवतरणको अनुमति



काठमाडौं । सोमबार बिहान भारतीय समय अनुसार ९ बजेर २० मिनेटमा भारतीय एयर स्पेस प्रवेश गरेको इरानी कम्पनी महान एयरको जहाज डब्लू ५८१ मा बम रहेको खबर स्वयम् पाइलटले नयाँ दिल्लीस्थित एयर ट्राफिक कन्ट्रोलरलाई दिए।

लगत्तै, इन्दिरा गान्धी विमानस्थलमा सतर्कता मात्र अपनाइएन, भारतीय सुरक्षा एजेन्सीहरुले समेत सकर्तता लिए। तर, जहाजलाई नयाँ दिल्ली विमानस्थलमा भने अवतरणको अनुमति दिइएन।

भारतीय सञ्चार माध्यमहरुका अनुसार इरानबाट चीनको ग्वाङ्झाउका लागि उडेको यो जहाजले नयाँ दिल्लीमै अवतरणको अनुमति मागेको थियो। ‘सुरक्षालाई मध्यनजर गर्दै भारतीय वायुसेनाले नयाँ दिल्लीमा अवतरणको अनुमति दिन इन्कार गरेको हो’ समाचारहरुमा भनिएको छ।

यो जहाजलाई जोधपुर एयरवेशमा रहेको भारतीय वायुसेवाको जहाजले पच्छ्याएको थियो। ‘फ्लाइट राडार २४’ को तथ्यांक अनुसार जहाज नयाँ दिल्लीमा अवतरण गर्ने उद्देश्यले निर्धारित उचाई भन्दा तल आइरहेको थियो। सोहीकारण भारतीय वायुसेनाको २ विमानले डब्लू ५८१ जहाजलाई आकासमै घेरेका थिए ।

आपतकालिन अवस्थालाई मध्यनजर गर्दै जहाजलाई जयपुर वा चण्डीगढ विमानस्थलमा जान अनुमति दिइएको थियो। पाइलटले भने दुबै शहरमा जहाज अवतरण गराउन इन्कार गरे। सोहीकारण बिहान ९ बजेर २० मिनेट देखि १० बजेर ५ मिनेटसम्म जहाज दिल्लीको आकासमै घुमेको थियो।

अन्तिममा पाइलटले जहाजलाई आफ्नो गन्तव्य चीनको ग्वाङ्झाउ नै लैजाने निर्णय लिए। जहाज गन्तब्यमा सुरक्षित अवतरण गरिसकेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्