सिट बाँडफाँटमा गठबन्धन दल अझैं अनिर्णित



काठमाडौं । सिट बाँडफाँटका लागि बसेको सत्ता को बैठक मंगलबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि बसेको बैठकमा सहमति हुन नसकेपछि मंगलबार बिहान ८ बजे सम्मका लागि बैठक स्थगित भएको हो।

सोमबारको बैठकमा पनि नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए। यादवले गठबन्धनबाटै बाहिरिने सम्मको चेतावनी दिँदै आएका छन्।

आजको बैठकमा कांग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो। कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन।

रोल्पा रुकुमका प्रदेशसभामा कांग्रेसको दाबी भए पनि माओवादीले त्यसको सट्टामा कांग्रेसको प्रभाव क्षेत्रमा दाबी गरेको छ। त्यस्तै जाजरकोटका दुवै प्रदेशसभा कांग्रेसले दाबी गरेको छ भने एउटा प्रदेशसभा माओवादीले दाबी गरिरहेको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एसका बीचमा समेत केही क्षेत्रमा विवाद रहेको श्रोतले बतायो।अछाम, सल्यान, उदयपुर र खोटाङमा २ दलबीच अझै विवाद बाँकी छ।

प्रतिक्रिया दिनुहोस्