दसैं विदाको ७ दिनमा सर्वोच्चमा एउटा मात्र रिट निवेदन दर्ता



काठमाडौं । दसैंविदाको ७ दिनको अवधिमा सर्वोच्च अदालतमा एउटा मात्रै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएर टुंगिएको छ।

घटस्थापनादेखि नियमित कामकाज बन्द गर्ने सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन मात्रै सुनुवाई गर्थ्यो। अघिल्ला वर्षहरुमा दैनिकजस्तो निवेदन दर्ता हुने गरेकोमा यसपटक भने एउटामात्रै निवेदन दर्ता भएर पर्सीपल्ट खारेज भएको हो ।

कोही व्यक्ति गैरकानूनी थुनामा परेमा उनलाई थुनामुक्त गर्न आदेशको माग राखी दिइने निवेदनलाई बन्दीप्रत्यक्षीकरणको निवेदन भनिन्छ।

दसैंविदाको भोलिपल्ट जिल्ला प्रहरी परिसर टेकुमा थुनामा रहेका योगेन्द्र तामाङकी श्रीमती सुनाम तामाङले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन्। उनको निवेदन २ दिनपछि खारेज भएको हो ।

विदा सुरु भएयता तामाङकै मुद्दा सुनुवाईका लागि सर्वोच्च अदालतमा २ पटक एकल इजलास बसेको थियो । त्यसयता कुनै निवेदन दर्ता भएको छैन भने इजलास समेत बसेको छैन । लगातार ३ दिनभन्दा बढी समय सर्वोच्च अदालत बन्द भएमा बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाईका लागि संयन्त्र खडा गर्नुपर्ने नियम छ ।

हरेक वर्ष सर्वोच्च अदालतले दसैं विदाका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाईका लागि आंशिक रुपमा प्रशासन खुला राख्छ भने हरेक दिन एकजना न्यायाधीशलाई पालो तोकेको हुन्छ । सर्वोच्च अदालत कोजाग्रत पूर्णिमाको भोलीपल्ट मात्रै नियमित रुपमा खुल्नेछ। आगामी २४ गते अदालत खुल्ने दिन कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको नेतृत्व सम्हाल्नेछन् । ६५ वर्षे उमेरहदका कारण कामू प्रधानन्यायाधीश रहेका बरिष्ठतम न्यायाधीश दिपककुमार कार्कीले दसैंविदाको विचमा अवकाश पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्