मुसा मार्न प्रशासनमा गुहार



पर्वत : पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन्। पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्।

 

 पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरूले कुश्मा नगरपालिका कृषि शाखा, कृषि ज्ञान केन्द्र पर्वत र जिल्ला प्रशासन कार्यालयमा मुसा नियन्त्रणका लागि निवेदन दिएका हुन्। बल्लतल्ल रोपाइँ गरेर पाक्ने बेलाको धान थन्क्याउने समयमा मुसाले नष्ट गरेपछि लगाएको बाली यत्तिकै छाड्नु परेको स्थानीय किसानले बताएका छन्। 

 

मुसाले ५० प्रतिशतभन्दा बढी धान नोक्सान पुर्‍याएको स्थानीय ढाकाराम सुवेदीले बताए। नगरपालिका–८ र १० का बासिन्दाले खेती गर्दै आएको फाँटमा मुसाको समस्या बढेका कारण नियन्त्रणका लागि पहल गरिदिन र क्षतिपूर्तिको माग गर्न आफूहरू प्रशासन कार्यालय आएको कृषक कोमलनारायण पौडेलले बताए। सो अवसरमा प्रजिअ गुरुदत्त ढकालले सम्बन्धित शाखाहरूसँग समन्वय गरेर मुसा नियन्त्रणका लागि पहल गर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्