निर्वाचनका बेला कारागार र विमानस्थलको सुरक्षा सेनाले गर्ने



काठमाडौं । आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा जनशक्ति अपुग हुनसक्ने भएकाले महत्वपूर्ण संरचना, कारागार र विमानस्थल सुरक्षामा नेपाली सेनालाई खटाइने भएका छ।

कारागारमा अहिले रहेका सशस्त्र प्रहरीलाई चाहिँ निर्वाचन सुरक्षामा खटाइने मन्त्रिपरिषद्ले पारित गरेको ‘एकीकृत सुरक्षा रणनीति’मा उल्लेख छ। यसपालिबाट कैदीबन्दीले पनि मतदान गर्न पाउने व्यवस्था गरिएकाले कारागारमा निर्वाचन गराउनका लागि नेपाल प्रहरी र म्यादी प्रहरी खटिनेछन्।

कूटनीतिक नियोगमा सुरक्षार्थ परिचालित सशस्त्र प्रहरीका टोली चाहिँ यथावत् रहनेछन् । धार्मिकस्थल तथा आयोजनास्थलका सुरक्षा वेशमा न्यूनतम संख्यामा मात्रै सशस्त्र प्रहरी खटाइने भनिएको छ ।

सुरक्षा योजना अनुसार सात वटै प्रदेश र उपत्यकामा २ वटा प्रदेश रिजर्भ टोली राखिनेछ । सिनियर प्रहरी अधिकृतको कमाण्डमा १५ जना प्रहरी र २ सय जना म्यादी प्रहरी रहने गरी अतिरिक्त टोली तयारी अवस्थामा राख्ने सुरक्षा योजनामा भनिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा पनि ४ वटा केन्द्रीय रिजर्भ टोली पनि राख्ने भनिएको छ । हरेक टोलीलमा सिनियर प्रहरी अधिकृतको कमाण्डमा ५० जना प्रहरी रहेनछन् । ७७ वटै जिल्लामा २ वटा रिजर्भ टोली सिनियर तथा जुनियर प्रहरी अधिकृतको कमाण्डमा खटिने गरी तैनाथ हुने पनि उल्लेख छ । निर्वाचनका लागि केन्द्र, प्रदेश र जिल्लामा संयुक्त निर्वाचन सेल र कमाण्ड पोष्ट स्थापना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्