बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आउँदै



काठमाडाैं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आज (विहीबार) बिहान नेपाल फर्कने जनाएका छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् ।

उनले प्रहरीसँग आत्मसमर्पण गर्ने र कानूनी लडाइँ लड्ने बताएका छन्। स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् ।

‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु।’

क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन्। उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियनल लिग खेल्न नेपालबाहिर थिए। युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्