बारा बस दुर्घटनाको प्रचण्डले गरे दुःख व्यक्त



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाराको जितपुर-सिमरा सडकखण्डमा भएको बस दुर्घटनाको दुःख व्यक्त गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बाराको जितपुर-सिमरा सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा ठूलो संख्यामा धनजनको क्षति भएको घटनाले स्तब्ध बनेको छु। दुर्घटनाका मृतकहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

बिहीबार बिहान बाराको जितपुर-सिमरा सडकखण्डमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएका छन् । भने ३५ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रचण्डले बिभिन्न अस्पतालमा उपचाररत् घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवार र घाइतेहरूलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायसँग अनुरोध समेत गरेको छ ।

चाडवाडको समयमा आइपरेको यो दुःखमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको र केही दिन निरन्तर वर्षा हुने मौसम विभागले सतर्कता सूचना जारि गरेको स्मरण गराउँदै आवश्यक सतर्कता अपनाउन समेत प्रचण्डले अनुरोध गरेका छन् ।

सम्पूर्ण पार्टी पंक्तिलाई प्राकृतिक प्रकोपका घटनामा राहत, उद्धार तथा अन्य सबै किसिमको सहयोगका लागि तत्पर रहन समेत प्रचण्डले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्